बेगका उपभोक्तालाई अनुशिक्षण

  • २१ कार्तिक २०७५, बुधबार
  • 147 पटक पढिएको

बेनी २१ कार्तिक । रघुगंगा गाउँपालिका १ बेगमा उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालाहरुका लागि मंगलबार योजना सञ्चालन तथा ब्यवस्थापनका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको पारदर्शी, व्यवस्थित, जनसहभागिता र ब्यवस्थित रुपमा कार्यान्वयनका लागि वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष, जनप्रतिनिधि र राजनीति दलका प्रतिनिधिहरुलाई अनुशिक्षण गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, सूचना अधिकृत पदम भण्डारी, योजना शाखाका प्रमुख दयाराम पौडेल, प्राबिधिक शाखा प्रमुख सव इञ्जिनियर कमल चोखालले उपभोक्ता समितिको काम, कर्तब्य र अधिकार, योजना सम्झौता, कार्यान्वयन, ब्यवस्थापन, फराफराक, लेखा राख्ने बिधिका विषयमा सहजिकरण गरेका थिए ।

वडा अध्यक्ष बिलबहादुर फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जनसहभागिता जुटाएर, पारदर्शी र प्रभावकारी रुपमा योजना तथा कार्यान्वयनमा सबैले चासो र सक्रियता देखाउनुपर्ने बताए ।रघुगंगा गाउँपालिकाले सबै वडा स्तरमा उपभोक्ता समिति र सरोकारवालाहरुलाई अनुशिक्षण तालिम सञ्चालन गरेको छ ।