गोठकाे जिवन : ‘कुकुरले गर्छन गोठ र गोठालाको सुरक्षा’ (फोटो कथा)

  • २० कार्तिक २०७५, मंगलवार
  • कमल खत्री
  • 3729 पटक पढिएको

म्याग्दी, २० कात्तिक । रघुगंगा गाउँपालिका–८ दुवाडीका डालचन्द विश्वकर्माको दैनिकी धौलागिरि हिमालको फेदी नजीक रहेका खर्कहरुमा बित्ने गर्छ । व्यवसायिक रुपमा भेडाबाख्रा पालन गर्दै आएका २१ बर्षका विश्वकर्माको साथि कुकुर हो । भेडाबाख्रा र आफ्नो सुरक्षाको लागि उनले २ वटा ‘भोटे कुकुर’ पालेका छन् । जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा उनले काँडेमाला लगाईदिएका छन् ।

करिब १५० वडा भेडाबाख्रा रहेको उनको गोठको सुरक्षा गर्ने जिम्मा कुकुरकै हो । गाउँदेखि २/३ दिनको पैदल यात्रा पछि पुगिने धौलागिरि हिमालको फेदी सम्मै चरणको लागि लैजानुपर्ने भएकाले कुकुर गोठमा अनिबार्य रहेको विश्वकर्मा बताउँछन् । ‘‘ यहाँ मेरो साथि भनेकै कुकुर हो, रात होस या दिन मेरो र गोठमा रहेका भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट बचाउने जिम्मा उसैको हो’’– उनले भने ।

झरमुते खर्कमा घनाजंगलको बिचमा गोठ राखेका विश्वकर्मा कुकुरकै भरमा आफुलाई सुरक्षित ठान्छन् । घरपालुवा गुनिलो जनावरको रुपमा चिनिने कुकुर केही बर्ष अघि सम्म ग्रामीण भेगका घरघरमा पालन गरिन्थ्यो । समाज विकास संगै गाउँघरमा समेत कुकुर पालन हराउँदै जान थालेपनि अनकन्टार हिमालको फेदीमा गरिने भेडाबाख्रा पालनको लागि भने कुकुर अत्यन्तै महत्वपूर्ण र उपयोगी रहेको धौलागिरिको फेदी नजीकै रिखार क्षेत्रमा भेडापालन गरेका कुम्मे शेरपुञ्जाले बताए ।

‘‘ जंगली जनावर बाघ, भालुको सख्ंया बढ्दो क्रममा छ, पटक पटक गोठसम्म आएर आक्रमणको प्रयास गर्छन, तर गोठमा रहेका कुकुरहरुको प्रतिकारले उनीहरुको प्रयास बिफल बनाईदिन्छ’’– कुकुरसंगै भेडा चराउँदै गरेका शेरपुञ्जाले भने । रात र साझँ विहान गोठमा रहेका बेला कुकुरले दिने सुरक्षाले जंगली जनावरहरुको आक्रमण हुने खतरा कम भएपनि दिउँसोको समयमा चरणक्षेत्रमा छरिएका भेडाबाख्रा माथि भने जंगली जनावरहरुले छेक हानेर आक्रमण गर्ने गरेको उनले सुनाए ।

गोठमा भेडाबाख्राको सुरक्षाको लागि पालिने कुकुरहरुले वरिपरिको रेखि गरेर बस्ने गर्छन् । कतैबाट बाहिरी नचिनेको मानिस र जंगली जनावर गोठ र भेडाबाख्रातर्फ अघि बढेमा ठुलो स्वरले भुक्ने कुकुरको काम हो । कुकुर जनावर भएपनि हिमाली भेगमा रहेका भेडाबाख्रा, गाई भैसीँका गोठहरुमा भने कुकुरको भुमिका जनावरको नभई एक प्रतिबद्ध रक्षकको रुपमा देखिन्छ । एकान्त, बस्तीदेखि धेरै टाढा र घना जंगलमा बस्ने सबैजसो गोठालाहरुले साथि र प्रतिबद्ध रक्षकको रुपमा २ भन्दा बढी कुकुर पालेका हुन्छन् ।

कुकुर बिना गोठको जिवन र भेडाबाख्रापालन सम्भव नहुने धौलागिरि गाउँपालिका–१ गुर्जाका भेगापालक कृषक बोमबहादुर छन्त्याल बताउँछन् । अधिकाँश समय जंगलमै विताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा बस्ने गोठाला र गोठका भेडाबाख्रा र बस्तुभाउको रेखदेखको लागि कुकुर अनिबार्य रुपमा पाल्ने गरिएको छ । पछिल्लो समय शहरी क्षेत्रमा शोखको लागि कुकुर पाल्ने क्रम बढीरहेको सन्दर्भमा दुर्गम र ग्रामीण बस्तीका भेडाबाख्रा र गाईभैसी पालन गर्ने कृषकहरु भने कुकुरलाई आफ्नो अंगरक्षककै रुपमा पालन गर्ने गरेको पाईन्छ ।

म्याग्दीदेखि मुस्ताङ सम्मको हिमाली भुभागमा भेडालाई चरणको लागि लैजाने गरेका रघुगंगा गाउँपालिका–२ का युवा कृषक रामकृष्ण भण्डारी कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुने गरेको बताउँछन् । गोठमा रक्षकको रुपमा चिनिने कुकुर सुरक्षा निकायहरुमा भने अपराध नियन्त्रण र अनुसंधानमा प्रयोग गरिँदै आईएको छ ।

हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार अन्र्तगत कुकुरको पुजा गरिन्छ । हिन्दु मान्यता अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानको रुपमा कुकुरलाई पुर्जा गरिन्छ । कुकुर मानिसको नजीकको साथिको रुपमा चिनिन्छ भने आज्ञाकारी जनावरको रुपमा समेत लिने गरिन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l