प्यारागलाईडिङ उडान सफल भएपछि पाईलट र सहभागीलाई भव्य स्वागत

  • २० कार्तिक २०७५, मंगलवार
  • 1925 पटक पढिएको

थम्मन थापा । गलकोट नगरपालिका ७ मल्म स्थित पर्यटकीय स्थल राम्चेढुङगाबाट प्यारागलाईडिङको सफल परिक्षण भएको छ । प्रथम गलकोट महोत्सवको अवसरमा गलकोट आएका पाईलट द्वय दुर्योधन खडका र निरन्जन कुॅवरले राम्चेढुङगाबाट उडान गरि वडा नं ९ को बाॅसखोलामा अवतरण गरिएको थियो ।

प्यारागलाईडिङमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र घुम्टे युवा परिवारका उपाध्यक्ष एवं चर्चित भलिबल खेलाडी जीवन साहानी सहभागी हुनु भएको थियो । समुन्द्र सतह देखि १ हजार ८ सय ८८ मिटरको उचाईमा अवस्थित उक्त स्थानबाट प्यारागलाईडिङ उडान गर्न गलकोट नगरपालिका वडा नं ७ को वडा कार्यालय र राम्चेढुङगा पर्यटन विकास केन्द्रले व्यवस्थापन गरेको थियो ।

प्यारागलाईडिङ उडान पुर्व विधिवत रुपमा पुजा आजा सॅगै पाईलट र सहभागीहरुलाई वडा सरकार र स्थानियले फुल माला अविर र खादा लगाई भव्य स्वागत गरिएको थियो । प्यारागलाईडिङको परिक्षण उडान सफलता पुर्वक सम्पन्न भएपछि वडा नं ९ को कार्यालयमा वडा अध्यक्ष तेज बहादुर थापा सहित स्थानियले भव्य स्वागत सहित बधाई ज्ञापन गरेका थिए ।

यता गलकोट नगरपालिका ७ मल्मको आॅगाखेतमा पनि वडा नं ७ को आयोजनामा पाईलट दुर्योधन खडका, निरन्जन कुॅवर र प्यारागलाईडिङमा सवार चर्चित मोडल तथा गायक दुर्गेश थापा र घुम्टे युवा परिवारका उपाध्यक्ष तथा खेलाडी जीवन साहानीलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देशले शुभकामना मन्तव्य राख्नु भएको थियो । बधाई ज्ञापन कार्यक्रममा जनप्रतिनिधि, स्थानियबासी लगायतको उपस्थिति रहेको थियो ।

बधाई ज्ञापन कार्यक्रम गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षता सदस्य लोक बहादुर थापाको स्वागत र सचिव महेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।