मोनाको अक्षयकोषका लागि युकेमा बाह् लाख संकलन

  • १९ कार्तिक २०७५, सोमबार
  • 2145 पटक पढिएको

बेनी १९ कार्तिक  म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बालबिवाह र बाल हिंसा न्युनीकरण तथा पिछडिएका महिलाहरुको शशक्तिकरणका लागि स्थापना गर्न लागेको अक्षयकोषका लागि बेलायतमा बाह् लाख रुपैयाँ सहयोग संकलन भएको छ । तिहार पर्वको अवसरमा बेलायतमा आइतबार आयोजित सांस्कृतिक कार्यक्रम मार्फत १२ लाख ९० हजार २७९ रुपैयाँ संकलन भएको मोनाका उपाध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो ।

मोना यु.केका अध्यक्ष कमल पुर्जाको संयोजकत्वमा भएको कार्यक्रममा मोनाका अध्यक्ष चक्रबहादुर थापा, संस्थापक प्रकाश पुन, पुर्व अध्यक्ष योगेन्द्र क्षेत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कलाकार शुशिला गौतम र बालचन्द्र बरालको प्रस्तुति रहेको थियो । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको गत वर्ष दरवाङमा भएको अधिवेशनका क्रममा एक करोड रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा भएको थियो ।

कार्तिक पहिलो हप्ता पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक संकलन अभियानलाई तिब्रता दिन विभिन्न देशमा अभियान चलाउने निर्णय गरेको थियो । सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालबिवाह र महिला हिंसाको समस्या न्युनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोषको रकम परिचालन गरिने मोनाले जनाएको छ ।