राउन्ड अन्नपूर्ण पदमार्गमा फोहोर बढ्दै

  • १९ श्रावण २०७२, मंगलवार
  • 1957 पटक पढिएको

विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गमा फोहोरका कारण प्रदूषण बढ्दै गएको छ । कास्की, मनाङ, म्याग्दी, मुस्ताङलगायत जिल्लामा फैलिएको २१ दिने यो पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमाना, शिख, घार, जोमसोम, कास्कीको नयाँपुल, लगायतका क्षेत्रमा फोहोर बढ्दै गएको हो ।

प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दै गएपछि जोमसोमका युवाले प्लास्टिकमुक्त अभियान नै सञ्चालन गरेका छन् । एक वर्षअघि भारी हिमपातका कारण मनाङ र मुस्ताङको सिमाना थोराङपास क्षेत्रमा ज्यान गुमाएका पर्यटकको लत्ताकपडा, प्लास्टिकका पोका, टेन्टजस्ता सामग्रीले फोहोर बढेको स्थानीय पर्यटन व्यवसायीले जानकारी दिएका छन् । मुस्ताङका पर्यटन व्यवसायी कुलबहादुर थकालीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ, लेते लगायतका स्थानमा विगतको तुलनामा फोहोर बढ्दै गएकोले चुनौती थपिएको बताउनुभयो । राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रमा बर्सेनि एक लाखभन्दा बढी पर्यटक आउने गरेको तथ्याङ्क छ ।

गत वैशाख १२ र २९ गतेको भूकम्पपछि यी क्षेत्रहरुमा पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । खासगरी पुराना पदयात्रीले आफू र भरियाले लगेका फोहोरजन्य पदार्थ खाल्डो खनेर व्यवस्थापन गर्ने गरेपनि नयाँ पदयात्री र भरियाले भने जताततै फ्याँक्ने हँुदा फोहोर बढ्दै गएको बताइएको छ । “विभिन्न स्थानमा फोहोर व्यवस्थापनसम्बन्धी सूचनामूलक सन्देश पनि राखेको छ, तर फोहोर बर्सेनि बढ्दै गएको छ भनेर पर्यटकले गुनासो गर्छन्”, पर्यटन व्यवसायी थकालीले भन्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० जोमसोमले दुई हप्ताअघि थोराङ क्षेत्रको मुस्ताङ खण्डमा नेपाली सेनाको सहयोगमा दुई ट्र्याक्टर फोहोर सङ्कलन गरेको थियो । ती क्षेत्रमा बर्सेनि सरसफाइ अभियान सञ्चालन गरेपनि फोहोर भने बढ्दै जानु चिन्ताको विषय बनेको एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । पर्यटकलाई पर्यटन व्यवसायी र एक्यापले पदमार्ग सफासुग्घर राख्न आग्रह पनि गर्दै आएका छन् । “कुनै एउटा क्षेत्र र जिल्लाले सफा गरेर हँुदैन, सबै एक भएर यसमा लाग्नुपर्छ”, कुइँकेलले भन्नुभयो । रासस