१७ औँ अन्तरमावि जेसीजकप फुटवल मंसिर ११ देखि बेनीमा हुने (भिडियो सहित)

  • १८ कार्तिक २०७५, आईतवार
  • कमल खत्री
  • 1809 पटक पढिएको

म्याग्दी, १८ कात्तिक । म्याग्दी जेसीजद्धारा निरन्तर सञ्चालन हुँदै आएको अन्तरमावि जेसीज कप फुटवलको १७ औँ संस्करण आगामी मंसिर ११ गतेदेखि सदरमुकाम बेनीमा सुरु हुने भएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने सो प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमिति मार्फत तयारीलाई तिब्र पारिएको म्याग्दी जेसीजले जनाएको छ । आइतबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष कमल विश्वकर्माले प्रतियोगितालाई सफल बनाउन १८ वटा उपसमिति गठन गरि तयारीलाई तिब्र पारिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका सबै मावि तहका विद्यालयहरुलाई सहभागीताको लागि पत्राचार गरिएको छ । प्रतियोगिताको मुल संयोजकमा बिरेन्द्र श्रेष्ठ रहनुभएका छ । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको प्रवक्ता एवम स्वंयसेवक परिचालन उपसमितिका संयोजकसुजन बरुवालले जानकारी दिनुभयो ।

अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ठ खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्रद्धारा सम्मान गरिने बरुवालले बताउनुभयो ।प्रतियोगिता सम्पन्न गर्न सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ भने सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको छ । जेसीज कपको मुख्य प्रायोजकको रुपमा बेनीका दिवंगत पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उहाँका परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

प्रतियोगिताको लागि प्रायोजक र सहयोगदाताहरुको खोजी भैरहेको मुल संयोजक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा नरेश मोवाईल सेन्टरले रु ५० हजार सहयोग घोषणा गरि सहप्रायोजक रहेको छ । प्रतियोगितामा खेल खेल्दै गर्दा खेलाडीहरु घाइते हुन पुगेमा उपचारको लागि शिखर इन्सुरेन्ससंग सहकार्य गरि निशुल्क बिमा गर्ने निर्णय गरिएको शाखा अध्यक्ष विश्व्कर्माले बताउनुभयो । विद्यालय स्तरमा म्याग्दीमा प्रतिष्ठित खेलकुद प्रतियोगिताको रुपमा चिनिदै आएको यस प्रतियोगिताको लागि रु १ लाख ५० हजार सहयोग गर्नेलाई टाइटल स्पोन्सरको रुपमा प्रतियोगितामा नाम जोडिनेछ भने ७५ हजार सहयोग गर्नेलाई प्रायोजक र ५० हजार सहयोग गर्नेलाई सह–प्रायोजिक संस्थाको रुपमा सम्मान गरिनेछ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l