घुम्ती शिविरबाट गुर्जाबासीलाई गाउँमै लालपुर्जा , सरकारी सेवा सुविधाले स्थानीयबासी उत्साहीत

  • १६ कार्तिक २०७५, शुक्रबार
  • धिरन खत्री
  • 3178 पटक पढिएको

म्याग्दी, १६ कात्तिक । धवलागिरि गाउँपालिका– १ गुर्जाका स्थानीयबासीले घुम्ती शिविरबाट लालपुर्जा पाएका छन् । जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरबाट जिल्लाको सबैभन्दा दुर्गम र बिकट गाउँ गुर्जाबासीले आफुले उपभोग गर्दै आएको जग्गा जमिनको लालपुर्जा पाएका हुन् ।शिविरबाट लालपुर्जा लिएका ६५ बर्षका रेशविर विकले बर्षौदेखि लालपुर्जा नहुँदा अंशबण्डा हुन नसकेको समस्या अब सहज भएको बताए । घुम्ती शिविरको केही दिन अघि देखि नै जिल्ला मालपोत र नापी कार्यालयका प्रमुख सहितको टोली खटिएर जग्गाको नक्सांकन र बास्तविकता पहिचान गरि आबश्यक कागजी प्रकृया पुरा गरेपछि शिविरबाटै लालपुर्जा वितरण सुरु गरिएको हो ।

]

‘‘गुर्जाबासी बल्न बास्तविक भुमिपती बन्ने अबसर पाए, पुस्तौँदेखिको जग्गाको लालपुर्जा नहुँदाको समस्या हल भएपछि सर्वसाधारणलाई ठुलो राहत मिलेको छ’’–गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले भने । उनका अनुसार, कुल २६० घरधुरीको बसोबास रहेको गुर्जामा ५० देखि ६० घरधुरी बाहेक अन्यको आफ्नो घर, पुस्तौँ देखि उपभोग गर्दै आएको जग्गा, जमिनको लालपुर्जा थिएन् । भौगोलिक विकटता, जग्गाको अबमुल्यन हुनु र लालपुर्जा बनाउन सदरमुकाम जादाँ आउँदा नै ठुलो खर्च हुने भएकाले गुर्जाबासी अहिलेसम्म लालपुर्जा विहिन बनेका थिए । शुक्रवारदेखि सुरु भएको घुम्ती शिविरमा जग्गा प्रकृया पु¥याएर आएका सिफारिसको आधारमा जग्गा राजीनामा, नामसारी, श्रेस्ता कायम संगै नागरिकता सेवा लिनेको भिड लागेको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिईन् ।

शिविरमा नापी र मालपोत कार्यालयबाट जग्गाको नक्सांकन, अंशबण्डा सहित लालपुर्जा, जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन, जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य परिक्षण तथा औषधी वितरण सेवा उपलब्ध गराईएको छ । महिला तथा बालबालिका कार्यालयले अपांगता परिचय पत्र वितरण सेवा प्रवाह गरेको छ । शिविरमा ७३ बर्षिय उदी छन्त्याललाई नागरिकता वितरण गरि सुभारम्भ गरिएको थियो । प्रजिअ लिलाधर अधिकारी सहित संघिय संसदका साँसद भुपेन्द्रबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, सहायक प्रजिअ लिलादेवी अर्याल, धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष झबहादुर छन्त्याल लगायतले संयुक्त रुपमा नागरिकता प्रदान गरि शिविरको सुभारम्भ गरेका थिए ।

शिविरबाट ६१ बर्षिय खरिलाटी विकले पहिलो पटक नागरिकता र अपांगता परिचय पत्र पाएकी छिन् । बोल्न र हिँड्न नसक्ने उनलाई आफन्तले शिविर सम्म ल्याएर नागरिकता र परिचयपत्र लिएका हुन् । पहिलो पटक नागरिकता लिएका ६५ बर्षिय जगप्रसाद छन्त्यालले यस अघि सदरमुकाम जान खर्च अभाब हुने भएकाले नागरिकता लिन नसकेको सन्दर्भमा गाउँमै शिविर पुगेपछि आफुलाई धेरै खुसी लागेको सुनाए । सो अवसरमा प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरको नेतृत्वमा स्थानीयबासी र विद्यार्थीहरुलाई प्रहरीको नागरिक सुनुवाई गरिएको छ भने नेपाली सेनाले हेलीप्याड निर्माण गरेका छन् ।

त्यस्तै सोही अवसरमा स्थानीय आमा समुहको अगुवाई निर्माण भएको स्नानगृहको साँसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै साँसद थापाले दुर्गम गाउँ गुर्जाका नागरिकको सुविधाको लागि शिविरले उल्लेख्य भुमिका खेलेको बताए । उनले गुर्जा सम्भावना नै सम्भावना बोकेको ठाउँ भएकाले यो क्षेत्रको विकास निर्माण र पर्यटन विकासमा आफ्नो निरन्तर साथ रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिसस प्रमुख केसी र प्रजिअ अधिकारीले जिल्ला सदरमुकाम र गाउँपालिकाको सहज पहुँचमा नरहेको गुर्जाबासीको सुविधा र सहजताको लागि एकिकृत शिविर राखिएको बताउँदै सरकारी सेवालाई सरलीकरण गर्न सबैले साथ दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रनाउ बिरबहादुर बुढामगर, नेपाली काँग्रेसका प्रतिनिधि कमल छन्त्याल लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष झक छन्त्यालको अध्यक्षता र सचिब गिरिराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । शिविर शनिवार सम्म सञ्चालन हुनेछ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l