किन्दु ग्रामिण सडक, सामुदायिक भवन, सत्तल र खेलमैदानको उद्घाटन (फाेटाे फिचर)

संघीय व्यवस्थासँगै जनताको विकासमा पहुँच बढेको छ– मन्त्री पुन

  • १६ कार्तिक २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2439 पटक पढिएको

किन्दु १६ कात्तिक । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीय व्यवस्थासँगै जनताको विकासमा पहुँच बढेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको किन्दु टोल विकास संस्थाले बिहीबार आयोजना गरेको ग्रामिण कृषि सडक, सामुदायिक सभाहल, छिर्केश्वर मन्दिरको सत्तल र खेलमैदानको उद्घाटन समारोहमा मन्त्रि पुनले यस्तो बताउनुभएको हो ।

तीन तहको सरकार भएपछि स्थानीयको आवश्यकता, विकास गतिबिधि र सार्वजनीक सेवा प्रवाहमा जनताले राज्यको उपस्थिती भएको महशुस गर्न थालेको दावी गर्नुभयो । मन्त्रि पुनले प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधारका लागि आवासीय विद्यालय, बालकक्षाको सुधार, प्राविधिक महाविद्यालय, मुटु, मुगौला, बाल र महिला अस्पताल सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।

आयआर्जन वृद्धीका लागि प्राकृतिक स्रोत साधनको परिचालनमा प्राथमिकता दिने बताउदै मन्त्रि पुनले आगामी पाँच वर्षभित्र प्रदेशका सबै स्थानीय तहमा ब्यवस्थित खेलमैदान निर्माण गरिने बताउनुभयो । खेलको माध्यमबाट प्रदेशलाई चिनाउने र खेल पर्यटन विकास गर्ने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन,  प्रदेश प्राज्ञ प्रतिष्ठान गठन गरि कला, संस्कार र संस्कृति संरक्षणको पहल गरिने बताउनुभयो ।

प्रदेश सांसद बिनोद केसीले प्रदेशको राजधानी र नाम तोकीसकेको गण्डकी प्रदेशले कानुन निर्माणको काम गरिहेको जानकारी गराउनुहुदै स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर जिल्लाको विकासमा अघि बढ्ने बताउनुभयो । किन्दुका बासिन्दाहरुले आफ्नै सक्रियतामा गाउँमा विकासका पूर्वाधार तयार पारेर जनसहभागिताको नमुना देखाएको बताउदै सडकको स्तरोन्नती, मोटरेबल पुल निर्माण, कृषि उपजको बजारीकरण र पर्यटन प्रर्वद्धनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बेनी–जोमसोम–कोरला सडकलाई स्तरोन्नती गरेर कोरला नाका खुलाउन पहल भइरहेको जानकारी गराउँदै केसीले कार्यान्वयनको क्रममा रहेको पोखरेबगर–चित्रे सडकले शिख र घारको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले विकासका लागि गाउँलेको एकता र सहकार्यको आवश्यकता पर्ने बताउदै जनताले चासो नदिए सरकारले जतिनै लगानी गरेपनि केही नहुने भएकाले जनता अग्रसर भएमा पालीकाको तर्फबाट साथ दिने बताउनुभयो ।

किन्दुमा निर्माण भएको सडक, खेलमैदान र भवनलाई पालिकाको तर्फबाट आवश्यक बजेटको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो । पण्डित भिमनाथ पराजुलीले श्रीस्व्थानी व्रतकथाकी सतीदेवीको भुडीँ खसेको किन्दुको छिर्केश्वर मन्दिरको प्रचारप्रसार र पूर्वाधार विकास गर्न सकेमा धार्मिक पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

पोखरा, काठमाडौ लगायत सहर र बेलायत, हङकङ लगायत प्रवासमा रहेका किन्दुका बासिन्दाहरुको पहलमा ९१ लाख ६७० रुपैयाको लागतमा सडक, भवन, खेलमैदान र सत्तल बनाएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङ्गीले आर्थिक प्रतिवेदन प्रस्तुतीका क्रममा जानकारी गराउनुभयो ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष तिर्थबहादुर पूर्जा, पूर्व गाविस अध्यक्ष खड्ग गिरी, शिख माविको ब्यवस्थापन समितिका पूर्व अध्यक्ष बागबिर पाइजा, किन्दु पोखरा सम्र्पक समाजका अध्यक्ष जुगमान चोचाङ्गी पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

किन्दु टोल विकास समितिका अध्यक्ष प्रेमबहादुर पुर्जाको अध्यक्षता, खिमन शेरपुञ्जा पुनको सञ्चालन र शिख्तानी समाज पोखराका टकदेवी शेरपुञ्जाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा पूख्र्याली लगायत नृत्य प्रस्तुत गरिएको थियो । खेलमैदान निर्माणका लागि २ रोपनी ४ आना १ दाम क्षेत्रफल जग्गा उपलब्ध गराउने मुक्तिराम, यमबहादुर र डिलीसरा पुर्जा, तीन लाख ५० हजार बराबरको ४०० थान स्लेट ढुंगा उपलब्ध गराउने जगबहादुर शेरपुञ्जा, धारा जडानमा सभाउने दिपक तिलीजासँगै २६ जना ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

शिख्तानी समाज युकेका उपाध्यक्ष ज्ञानबहादुर तिलीजाले खेलमैदान र छिर्केश्वर शिवालय मन्दिरलाई पचास÷पचास हजार रुपैया सहयोग गर्नुभएको थियो । तिलीजाले यसअघि सडक निर्माण गर्न दुई लाख रुपैया उपलब्ध गराउनुभएको थियो । सोही अवसरमा किन्दु गाउँमा जन्मिएर विभिन्न तह र पदमा पुगेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

बास्केटबल खेलाडी खुमराज पुर्जा, आर्चरी खेलाडी बाबुराम पाइजा, भारतीय सेनाका लेफेटीनेन्ट केशबहादुर तिलीजा, डाक्टर सागर पाइजा पुन, पाइलट दुर्गाराम शेरपुञ्जा, सांग्रिला बैंकका प्रबन्धक सन्दिप पुर्जा पुन, भारतीय सेनाका क्यापटेन बलबहादुर पाइजा, सिर्गापुर प्रहरीका निरीक्षक तिर्थ शेरपुञ्जा, इञ्जिनियर अशोक शेरपुञ्जा, क्याप्टेन पदमबहादुर चोचाङ्गी पुन, पुन समाजका केन्द्रिय महासचिव खिमन शेरपुञ्जा पुनलाई सम्मान गरिएको थियो ।

यसैगरी किन्दुमा सबैभन्दा पहिलो एसएलसी उतिर्ण गर्ने महिला भेउरानी तिलीजा पुन, पूरुषतर्फ जगबहादुर पाइजा, स्नाकोत्तर उतिर्ण गर्ने शिख माविका शिक्षक खिमबहादुर पाइजा पुनलाई पनि सम्मान गरिएको थियो ।

सन्तोष गौतम