म्याग्दीको रुईसेदेखि धौलागिरि आईसफल क्षेत्र नयाँ पर्यटकीय गन्तब्यमा समावेश

  • १५ कार्तिक २०७५, बिहीबार
  • कमल खत्री
  • 3379 पटक पढिएको

म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे देखि धौलागिरि आईसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरोको एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आईसफल क्षेत्र समेटिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने नयाँ पर्यटकीय गन्तब्यको सुचिमा रुइसे हुँदै धौलागिरि आईसफल क्षेत्र समेटीनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम बहादुर कटुवालले बताउनुभयो । ‘‘अहिलेसम्म ओझेलमा परेको यो क्षेत्र सरकारको प्राथमिकतामा परेको छ, स्थानीय स्तरबाट भएका प्रयासहरु सार्थक बन्दैछन्, यहाँको सम्भावना उजागरमा पर्यटकीय गन्तव्य घोषणाले महत्वपूर्ण इट्टा थपिने विश्वास लिएको छु’’–वडा अध्यक्ष कटुवालले भन्नुभयो ।

रुइसे हुँदै धोलागिरि आईसफल संगै सरकारले म्याग्दीकै घोरेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सुचिमा राखेको छ भने पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवद्र्धन गर्नुपर्न गन्तव्यको सुचिमा राखेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर १, २, ३ , ४ , ७   र ८ को सिमा क्षेत्रलाई समेटीएको रुइसेदेखि धौलागिरि आईसफल क्षेत्र धौलागिर र अन्नपूर्ण रञ्जका हिमालहरुको अवलोकनको लागि उत्तम मानिन्छ भने म्याग्दीबाट मुस्ताङ निस्कने बैकल्पिक नयाँ पदमार्ग समेत हो ।

धौलागिरि आइसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुइसेमा रघुगंगा गाउँपालिकाले भ्युटावर निर्माण सुरु गरेको छ । आर्थिक बर्ष २०७५/७६ को बजेट बक्तव्य अनुसार मन्त्रीस्तरको निर्णयबाट छनौट गरिएका एक सय नयाँ पर्यटकीय गन्तब्यहरु नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित भएको मध्ये मन्त्रालयले विभिन्न आधार तयार गरि छनौट गरेको हो ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्न योग्य बनाइनेछन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवद्र्धन गर्ने योजना बनाइएको छ । यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुवात गर्नेछ । नयाँ गन्तब्य प्रवद्र्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l