स्थानीय चुनावमा होमिए प्रमुख ४ दल, यस्तो छ तयारी

  • २२ चैत्र २०७३, मंगलवार
  • 2785 पटक पढिएको

चैत २२ – ४० दिनपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मुलुकका सबैजसो राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।

प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित संसदमा रहेका अरु साना दलहरुले समेत चुनाव केन्द्रीत गतिविधिलाई तीव बनाएका छन् । यस्तै संशोधनपछि मात्रै चुनाव हुनुपर्ने माग गर्दै आएको मधेसी मोर्चाले पनि भित्रभित्रै चुनाव केन्द्रीत गतिविधिलाई भने तीब्रता दिइरहेको छ ।
यता संसदबाहिर रहेका नयाँ शक्ति, मोहन वैद्य नेतृत्वको चुनावी मोर्चालगायतका दलहरु भने आफ्नै पार्टीबाट चुनाव लड्न पाउनुपर्ने माग गरिरहेका छन् ।
विरोधका स्वरहरुकाबीच पनि देश चुनावमय हुँदै गएको छ । अर्थात दलहरुका गतिविधि, आयोगको तयारी र सरकारको प्रतिवद्धताले मुलुक निर्वाचनमय हुन थालेको छ ।
दलहरुका गतिविधि बढेसँगै निर्वाचन आयोगले पनि आफ्नो तयारीलाई तीव्र बनाएको छ । जिल्ला जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिसकेको आयोगले अहिले आयोग परिसरमै मेसिन राखेर मतदाता परिचयपत्र छपाइको काम सुरु गरिसकेको छ । केहि दिनअघि अन्तिम मतदाता संख्या पहिचान गरेको आयोगले एक करोड ४० लाखभन्दा बढि मतदाता परिचयपत्र छाप्न सुरु गरेको छ ।
निर्वाचन मिति नजिकिदै गएपछि राजनीतिक दलहरुले निर्वाचन परिणामा आफ्नो पक्षमा पार्न आ–आफ्ना चुनावी एजेण्डासहित घोषणापत्र तयारी, उमेद्वार छनोट र चुनावी सभा आयोजना गरेर चुनावी माहोललाई थप तताइरहेका छन् ।

मतदाता फकाउन कांग्रेसका  ठूला नेता सभामा
कांग्रेसले केहि दिनअघि नेता महेश आचार्यको नेतृत्वमा घोषणा पत्र तयारी कमिटि गठन गरेको छ भने नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएर निर्वाचनको तयारीलाई तीव्र बनाएको छ । उसले गाउँ जिल्ला हुँदै उमेदवार छनोटका लागि तल्ला इकाईलाई नाम सिफारिस गर्न निर्देशन दिइसकेपछि स्थानीय स्तरमा उमेद्वारको छनोटका लागि स्थानीय नेताहरु दौडधुपमा लागेका छन् ।

उमेद्वारको अन्तिम नामावलीका लागि चैत २५ गते बस्ने केन्द्रीय समितिले निर्णय गर्ने जनाएको छ । कांग्रेसले बैशाख ७ सात गतेभित्र स्थानीय तहका उमेद्वारहरुको टुङगो लगाइसक्ने जनाएको छ । उसले निर्वाचन परिणाम आफ्नो पक्षामा पार्न र मतदाता फकाउन गर्न लागेका चुनावी सभाहरुमा केन्द्रीयस्तरका नेताहरुलाई सम्बोधनका लागि खटाउने यसअघि नै निर्णय गरिसकेको छ । अव केहि दिनभित्रै सातै प्रदेशमा शीर्ष नेताहरु सहभागि हुने गरी त्यहाँका मुख्य शहरमा चुनावी सभा गर्ने तयारी भएको कांग्रेस नेता नेता बलबहादुर केसीले बताए ।

एमालेको तडकभडक
संसदको दोस्रो ठुलो दल एमालेले अन्य दलको तुलानमा चुनावी तडकभडक बढि नै देखाएको छ । मेची महाकाली अभियानबाटै चुनावी तयारीमा जुटेको एमालेले आफ्नो सम्पूर्ण शक्ति चुनावकेन्द्रीत गतिविधिमा खर्चेको जनाएको छ ।
एमालेको सोमबार बसको स्थायी कमिटि बैठकले स्थानीय निर्वाचनका लागि उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलको नेतृत्वमा छुटाछुटै कमिटी बनाएर आफ्नो तयारीलाई थप शसक्त बनाउने निर्णय गरेको छ । एमालेले उपाध्यक्ष गौतमको नेतृत्वमा
स्थानीय तह निर्वाचन घोषणा पत्र मस्यौदा समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।
महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्वाचन अनुगमन समन्वय समितिमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।
त्यस्तै एमालेले स्थानीय कमिटीहरुलाई उम्मेदवारहरुको सिफरिस गर्न समयसीमा समेत निर्धारण गरेको छ । एमालेले वडा कमिटीहरुले चैत ३० गतेसम्म, गाउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्ने जनाएको छ । पार्टी स्थायी समितिले ०७४ वैशाख १२ गते बैठक बसी उम्मेद्वारका विषयमा केन्द्रबाट गर्नुपर्ने निर्णय निर्णय गर्ने जनाएको छ । एमालेले स्थानीय निर्वाचनमा पराजित भएका उमेद्वारले ७४ सालभित्रै हुने प्रादेशिक र संघीय संसदको चुनावमा उमेद्वार हुनबाट रोक्ने नयाँ फण्डा पनि सार्वजनिक गरेको छ । एमालेले चुनावको तयारीका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक २०७४ वैशाख ३ गते बोलाएको छ ।

उमेद्वार घोषणामा माओवादी केन्द्र अगाडि
अहिलेको तेस्रो ठुलो दल माओवादी केन्द्रले पनि स्थानीय तहको चुनावका लागि आफ्नो गृहकार्य शसक्त बनाउदै लगेको जनाएको छ । उसले आन्तरिक तयारी तीव्र पारेपनि बाहिरी कार्यक्रम भने खासै गरेको देखिएको छैन । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनका लागि मनाउने प्रयासमा जुटेकाले उसले बाहिरी कार्यक्रम त्यति धेरै गरि नसकेपनि चुनावी बृहद सभाहरु छिटै सुरु गर्ने जनाएको छ ।
माओवादी केन्द्रले देव गुरुङको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन तयारीलाई तीव्रता दिएको हो ।
गुरुङ संयोजकत्वको समितिले अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जानु अघि नै प्रतिवेदन बुझाएर समितिले तल्लो कमिटीलाई पनि परिपत्र जारी गरिसकेको छ ।
त्यसो त माओवादीले स्थानीय तहको निर्वाचनका लागि कतिपय स्थानमा उम्मेदवार नै घोषणासमेत गरिसकेको छ । माओवादीले झापाबाट उमेदवार घोषणा सुरु गरेको हो । उसले चैत २१ गते सोमबार झापाको मेचिनगर १३ र १४ मा वडासदस्यका लागि उमेद्वारहरु घोषणा गरेको हो । अन्य स्थानका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि प्रमुख र उपप्रमुख, वडा अध्यक्ष, सदस्य चयन गर्न धमाधम आन्तरिक बैठक सञ्चालन जारी रहेको नेता गुरुङले बताए ।
गुरुङको नेतृत्वमा गत फागुन २३ गते गठन भएको निर्वाचन परिचालन समितिले चुनावी प्रतिबद्धता, नीति तथा कार्यक्रम, उम्मेदवारका लागि तयार मापदण्ड अनुसार काम भेरहेको माओवादी नेताहरुले बताएका छन् ।
उम्मेद्वार छनोटमा राप्रपा उदार !

सत्तारुढ दल राप्रपाले पनि बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारीलाई बढाउँदै लगेको छ । चैत १० बाट चुनावी गतिविधि बढाउने निर्णय गरेको राप्रपाले देशका विभिन्न स्थानमा ठूला खालका सभाहरु गर्ने तयारी गरेको छ । त्यसका लागि राप्रपाले १४ अञ्चलमा १४ जना चुनावी कमाण्डर तोकेको पार्टी प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती कमाण्डरहरुले विभिन्न शहरहरुमा चुनाव लक्षित कार्यक्रमको तय गर्नेछन् ।
प्रवक्ता श्रेष्ठका अनुसार राप्रपाले सांगठानिक संरचनालाई स्थानीय संरचनामा ढालिसकेको छ । हाल केन्द्रीय नेताहरुलाई गाउँगाउँमा खटाएको राप्रपाले ‘जनताको माझमा राप्रपा’ नामको अभियानलाई देशव्यापी बनाइरहेको छ भने चुनावमा राप्रपालाई विजयी गराउनका लागि तयार पारिएको अनुरोध पत्रपनि जनताका घरघरमा पुर्याउने काम चलिरहेको छ । ‘घरदैलो कार्यक्रमदेखि पार्टीको एजेण्डा समेटिएको अनुरोधपत्र जनताको घरघरमा पुर्याइरहेका छौं ’, श्रेष्ठले भने, ‘प्रत्येक जिल्लामा पार्टी बुद्धिजिवी भेला , महिला जागरण कार्यक्रम, युवा –विद्यार्थी उत्सव, कृषि भेला जस्ता कार्यक्रमपनि चलाइरहेका छौं ।’
राप्रपाले आफ्नो पक्षमा माहोल बनाउन सबैखालको शक्ति प्रयोग गरेको र त्यसका लागि उम्मेद्वार चयन लगायतका प्रक्रियामा पनि जुटिसकेको उसले जनाएको छ ।
राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले गाउँ तथा नगरमा पार्टीको तर्फबाट लड्ने उम्मेद्वारको चयन सम्बन्धित इकाईको सिफारिशमा जिल्लाले गर्ने बताउँदै उपमहानगरपालिका र महानगरपालिकाको हकमा भने सम्बन्धित जिल्लाको सिफारिसमा केन्द्रले गर्ने बताए । उनले गाउँ तथा नगरपालिकाका उम्मेद्वारको चयन चैत २५ गतेभित्र गरिने र उपमहानगर÷महानगरपालिकामा लड्ने उम्मेदवारको अन्तिम टुंगो बैशाख १ गतेसम्ममा लगाइने बताए ।
राप्रपाले पार्टीमा सक्रिय नरहेका तर पार्टीप्रति आस्था राख्ने स्थानीय स्तरका व्यक्तिहरुलाई समेत स्थानीय तहको उम्मेद्वार बनाउने जनाएको छ ।
‘उम्मेद्वार चयनको हिसावमा हामी फेक्जिबल छौं’, बर्तौलाले भने, ‘ पार्टीको सक्रिय सदस्य ननभएपनि पार्टीप्रति आस्था राख्ने प्रभावशाली व्यक्तित्वलाई समेत पार्टीले उम्मेद्वार बनाउने निर्णय गरेको छ ।’ यसैबीच पार्टी अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र लेख्ने कामलाई तीब्रता दिएको समेत राप्रपा स्रोतले जनाएको छ ।

source; ratopati