मुटुरोग पिडित नेपालीलाई हङकङबाट रु १ लाख ७० हजार आर्थिक सहयोग

  • १२ कार्तिक २०७५, सोमबार
  • 2471 पटक पढिएको

बेनी, १२ कात्तिक । बेनी नगरपालिका–१ रत्नेचौरकी मुटुरोगबाट पिडित विष्णु नेपालीको उपचारको लागि हङकङबाट रु १ लाख ७० हजार आर्थिक सहयोग जुटेको छ । आर्थिक विपन्नता रहेकाले उपचार गराउन समस्या भोगेकी नेपालीको उपचारको लागि मोना हङकङले रत्नेचौर घर भई हाल हङकङमा रहनुभएका महेन्द्र खत्रीको संयोजकत्वमा सञ्चालन गरेको आर्थिक सहयोग संकलन अभियानबाट सो सहयोग जुटेको हो ।

भानु माविमा कक्षा ८ मा अध्ययनरत नेपालीको मुटुमा प्वाल परेपछि अहिले मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचार भैरहेको छ । सो सहयोग रकम विरामीका आफन्तलाई उपलब्ध गराईएको समन्वयकर्ता सुजन थापाले बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिका–५ घर भई हाल दक्षिण कोरियामा रहनुभएका बाबुराम भण्डारीको संयोजकत्वमा २६ हजार ३०० सहयोग जुटेको छ । रत्नेचौर जागरण समुहले समेत परियारको उपचारमा सहयोगको लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।