म्याग्दी भ्रमण वर्षको प्रचार अभियान

  • ९ कार्तिक २०७५, शुक्रबार
  • 3175 पटक पढिएको

बेनी ९ कात्तिक । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि देशका विभिन्न स्थानमा पुगेर आन्तरिक पर्यटकहरुलाई आमन्त्रण गर्न प्रचार अभियान सुरु भएको छ । ‘म्याग्दी भ्रमण बर्ष –२०७५’को अगुवाइ गरेको म्याग्दी उद्योग वाणिज्य संघले घुम्नका लागि निम्तो गर्न शुक्रबारदेखि अभियान सुरु गरेको हो । भ्रमण टोलीमा उद्योग वाणिज्य संघका पदाधिकारी, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय तहका जनप्रतिनिधिहरुको समेत सहभागिता रहने जनाइएको छ ।

पाल्पा, बुटवल, भरतपुर, हेटौडा, बर्दिवास, सिन्धुली, काठमाडौ र पोखरा पुगेर म्याग्दी घुम्नका लागि आमन्त्रण गर्न चार दिने कार्यक्रम तय भएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए । संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले विभिन्न जिल्लामा पुगेर त्यहाँका उद्योगी, ब्यवसायी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेर म्याग्दी भ्रमण वर्षको निमन्त्रणा र जिल्लाका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिने बताए ।

हिमाल पारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय स्थलहरुमा सहज रुपमा पुग्नको लागि आवश्यक प्रवन्ध मिलाइएको भ्रमण बर्ष मूल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कर्माचार्यले बताए ।‘‘प्राकृतिक सुन्दरतामा म्याग्दी अथाह सम्भावना बोकेको छ, यहाँ भ्रमणमा आउने पर्यटकहरुलाई यातायात र खानामा बिशेष छुटको व्यवस्था समेत गरिएको छ’’–संघका अध्यक्ष कर्माचार्यले भनेका थिए ।

पछिल्लो समय चाडपर्वको फुसर्दको समयलाई नयाँ ठाउँमा घुमेर मनाउने सस्कारको विकास हुन थालेको भन्दै संघले म्याग्दीका पर्यटकीय स्थलहरुमा पुग्नको लागि बेनी स्थित कालीपुलमा रहेको पर्यटक सूचना केन्द्रमा आवश्यक सूचना र परामर्शको समेत व्यवस्था गरिएको छ । बेनी नगरपालिका सँगको सहकार्यमा पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजिल (विद्युतीय) सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।गत बैशाख ३१ गते औपचारिक रुपमा म्याग्दी भ्रमण बर्षको सुरुवात गरिएको थियो । जिल्लामा रहेको अथाह पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन आगमन बढाउनको लागि भ्रमण बर्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संघले स्थानीय तह र सम्बद्ध सरकारी निकायसंगको सहकार्यमा भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगको लागि आह्वान गरेका छ । प्राकृतिक, ऐतिहाँसिक, साँस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्बाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृिद्ध गर्न भ्रमण बर्षलेसहयोग पुग्ने संघका महासचिब लिलाराम गौतम बताउनुहुन्छ ।पर्यटकीय स्थलको पहिचान गरि प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको छ ।
पर्यटकलाई सुविधा
भम्रण बर्षको अवसरमा म्याग्दीमा आउने पर्यटकहरुलाई बिशेष सुविधाको व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकहरुलाई आरामदायी बसोबाससँगै खानामा समेत बिषेश सहुलियत दिईएको छ । पर्यटक सूचना केन्द्रमा इन्ट्री मभएर होटलमा आउने पर्यटकलाई खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले बताए ।

उनले अहिलेसम्म जिल्लामा भित्रने पर्यटकहरुलाई खान र बस्नको लागि समस्या नहोस भनेर कालीपुलमा रहेको प्रहरीको यात्रु सहायता कक्षमा समेत सम्पर्क नम्बरहरु उपलब्ध गराईएको जानकारी दिए । ‘‘बेनीमा आउने पर्यटकलाई खान र बस्नको अभाब छैन्, हामीले एक अर्का होटलहरुबीच समन्वय गरेर भएपनि यहाँ भित्रने पर्यटकहरुलाई खान र बस्नको राम्रो प्रवन्ध मिलाउँछौँ’’– अध्यक्ष आचार्यले भने ।
यस्ता छन घुम्ने ठाउँ
दर्जनौँ हिमाल, मनोरम भु–वनोट, कला संस्कृति र ऐतिहाँसिक स्थलहरु अवस्थित म्याग्दी पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला हो । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर लगायत दर्जनाँै हिमशृङ्खला रहेका छन् । हिमाल पारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसँगै, अग्ला झरना, ताल तलैया, धार्मिक र ऐतिहाँसिक सम्पदाहरु समेत छन् । यहाँको भ्रमण गर्न आउने पर्यटकहरुले लामो यात्रामा राउण्ड धौलागिरी, अन्नपूर्ण आधारशिविर, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्गको भम्रण गर्न सक्छन् ।

यी पदमार्गको भम्रण एक साता देखि २ साता भन्दा बढी समय खर्चिनुपर्छ । छोटो दुरीमा २ देखि ५ दिनसम्मको यात्रामा आउने पर्यटकहरु घोडेपानी पुनहिल, फूलबारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुइसे, भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा,बेगको नेपालकै लामो झोलुंगे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, छन्त्याल बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरु, लगायतका पर्यटकीय गन्तव्यहरु रहेका छन् । त्यसैगरि भालेबास्ने, नौलीबराह, खयरभारनी, नागी बराही, पेरी भारनी, निस्कोट बराही लगायतका ताल तलैयाहरु समेत पर्यटकीय गन्तव्यमा सम्भावनायुक्त छन् ।