रघुगंगाको भवनमा ढिलासुस्ती

  • ३० आश्विन २०७५, मंगलवार
  • 2462 पटक पढिएको


बेनी ३० असोज । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य सहित आठ वर्षअघि सुरु भएको रघुगंगा जलविद्युत आयोजनाको भवन अझै सकिएको छैन् ।निर्माण ब्यवसायिको लापरबाहि र सम्बन्धित निकायको प्रभावकारी पहलको अभावमा रघुगंगाका निर्माणाधिन भवनहरु पूर्वाधार आयोजनामा हुने ढिलासुस्तीको नमुना बनेका छन् । नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट क्षमत्ताको रघुगंगा जलविद्युत आयोजनाको कार्यालय र कर्मचारी आवासको लागि रघुगंगा गाउँपालिका ३ पिप्लेमा १० वटा भवन बनाउन गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जे.भी.सँग ११ करोड १० लाख ६७ हजार रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।

२०६७ कात्तिक ४ गते भएको सम्झौता अनुसार अठार महिनामा भवन बनिसक्नुपर्ने हो । तर, हालसम्म चार वटा भवन बनाएर आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडलाई बुझाएको ठेकेदारले एउटा भवनको जग समेत हालेको छैन् । थप एक वटा भवन हस्तान्तरणको अवस्थामा रहेको ठेकेदारको चरम ढिलासुस्ती र लापरवाहीका कारण अन्य भवनहरु अलपत्र छन् । निर्माण पुरा नहुदै जीर्ण र थोत्रिएका भवन विकास आयोजनाहरुमा हुने ढिलासुस्तीको नमुना बनेको रघुगंगा गाउँपालिका ३ का वडा अध्यक्ष जिवन मल्लल बताए ।

‘अनुमानित भन्दा कम दरमा ठेक्का लिएको कम्पनीले समयमा काम गर्न नसक्दा भवनहरु अलपत्र परेका हुन्’ वडा अध्यक्ष मल्लले भन्नुभयो ‘रघुगंगाको भवनमा भएको ढिलासुस्ती ठेकेदारको लापरबाहीसँगै काम गराउन पनि नसक्ने र कारबाही गर्न पनि नसक्ने प्राधिकरणको नालायकीपनको उपज हो ।’ ठेकेदारले ढलान गरेर भवन ठडाएपनि पलास्टर, रंगरोगन, विद्युत, खानेपानी जडान गर्न बाँकी छ । भवन निर्माण नहुँदा कम्पनीले कार्यालय र कर्मचारी आवासका लागि मसिक लाखौ रुपैयाँ घरभाडामा खर्चने गरेको छ । ठेकेदारले करिब असी प्रतिशत मात्रै काम गरेको कम्पनीले जनाएको छ ।

दुई वटा कम्पनीले संयुक्त रुपमा काम गर्ने सम्झौता गरेपनि उनिहरुबीच वित्तिय समस्या र आन्तरिक दन्द्धका कारणले भवनको काम प्रभावित बनेको प्राधिकरणका कर्मचारीहरुले बताए । पटक–पटक म्याद थप र ताकेता गरेपनी अपेक्षाकृत काम गर्न नसकेको ठेकेदार कम्पनीसँग सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको रघुगंगा हाईड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए । ‘अदालतको मुद्दा मामिलामा अल्झिएको भवनको काम आरबिटेशन गरेर एक वर्षमा हस्तान्तरण गर्ने सम्झौताको म्याद पनि सकिनै लागेको छ’ पाण्डेले भने ‘किन काम गरेन भनेर पटक पटक ताकेका गरिरहेका छौ । टर्मिनेट गरेर जानुपर्ने भयो भने पनि हामी टर्मिनेटको तयारीमा छौ ।’ प्रतिक्रियाका लागि ठेकेदार कम्पनीका प्रतिनिधि बिनोद राईलाई सम्र्पक गर्दा उनले मोवाईल उठाएका थिएनन् ।

यसैबीच रघुगंगा जलविद्युत आयोजनाको सिभिल ठेकेदार जे.पी एसोसियट्सले नक्साङकन (डिजाइन)को काम सकेर बाँध, सुरुङ सम्म पुग्ने सडक निर्माण र ब्यवस्थापकीय काम सकेर सुरुङ निर्माणको तयारी गरेको कम्पनीका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताए । २०७४ मंसिर ५ गते छ अर्ब रुपैयामा सम्झौता भएको सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । रघुगंगा गाउँपालिकाको झिँ र दग्नामको सिमानामा बाँध र पिप्लेको तिल्केनीचौरमा विद्युतगृह प्रस्ताव गरिएको रघुगंगा जलविद्युत आयोजना भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा निर्माण गर्न लागिएको हो ।

यसअघि छनौट भएको भारतको आइ.भी.आर.सी.एल प्रोजेक्ट्स लिमिटेड कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टिएपछि चार वर्षमा दश प्रतिशत पनि काम नगरी अधकल्चो बनाएको थियो । पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस भन्ने सरोकारवालाको अपेक्षा रहेको गण्डकी प्रदेशका सांसद बिनोद केसीले बताए । ‘म्याग्दीको जलविद्युत विकासको मेरुदण्ड मानिएको रघुगंगालाई सहज रुपमा समयमै सम्पन्न गराउनुपर्छ भन्ने समग्र जिल्लाको माग हो’ सांसद केसीले भने ।