ठेगदारको गुणस्तरहिन कामले नालीको ढकनी एकहप्तापनि टिकेन

  • २९ आश्विन २०७५, सोमबार
  • 3163 पटक पढिएको

बेनी २९ असोज । सदरमुकाम स्थित बेनी नगरपालिका ८ कालीपुलमा ढलान गरिएको बसपार्क प्रयोगमा आएको एक हप्ता नहुदै लार्खो खर्चेर निर्माण गरिएको नालीमाथि राखिएको ढकनी भाँचिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत गत असारमा ढलान गरेको बसपार्क करिब एक हप्ताअघि सञ्चालनमा ल्याइएको थियो । ढलानसंगै बनाइएको नालीमाथि राखिएको ढकनी बसपार्क सञ्चालनमा आएको एक हप्तामै भाँचिएको छ । सिमेन्ट, गिट्टी, बालुवा, रडको प्रयोग गरेर बनाइएको ढकनी गुणस्तरहिन भएकोले भाँचिएको स्थानीयबासीले बताएका छन् ।

कमशल निर्माण सामग्रीको प्रयोग भएकाले ढकनी फुटेको गलेश्वरका दिपक कार्कीले बताए । ‘नाली र ढकनी मात्र नभएर बसपार्कको ढलानमा समेत कमशल सामग्रीको प्रयोग भएको विषयमा सरोकारवालाहरुलाई जानकारी गराएपनि बेवास्ता गरेकाले अहिले यस्तो परिणाम आएको हो’ कार्कीले बताए ।डेढ मिटर चौडाईको नालीमाथि राखीएका अधिकांश ढकनी फुटेका छन । सवारी साधनको भार थाम्न नसकेपछि फुटेर नाली पुरिएको छ । ढकनी फुटेको ठाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको यातायात ब्यवसायी कुमार थापाले बताए ।

५५ मिटर लम्बाई र १० मिटर चौडाईको ढलान तथा डेढ मिटरको नाली निर्माणका लागि त्रिशक्ति तिलक जेभीले ठेक्का लिएको थियो । चालीस लाख रुपैया लागत अनुमान गरिएको बसपार्क ढलान गर्न २८ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

निर्माणकै क्रममा सम्बन्धित ब्यवसायी र कार्यालयलाई पटक पटक जानकारी गराएपनि सुधारमा बेवास्ता भएकाले राज्यको लगानी खेर भएको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए ।
‘प्राबिधिक र निर्माण ब्यवसायीको मिलेमतोमा गुणस्तरहिन काम गरेर बजेटको दुरुपयोग भएको गुनासो तिब्र छ’ वडा अध्यक्ष बराईलीले बताए ।

डिभिजनका ईञ्जिनियर गणेश मर्हजनले निर्माण ब्यवसायीको कमजोरीका कारण ढकनी फुटेको बताए । महर्जनले एकहप्ताभित्रनै पुननिर्माण गर्न लगाउने भनिएपनि सुरु हुन सकेको छैन् ।दशैको नजिक छुट्टीको समयमा म्याग्दी घुम्न आउने पर्यटकलाई नालीको सलाप भाचिदाँ पाकिङ्गको समस्या तथा दुर्घटनाको जोखिम बढेको छ । स्थानीय सरकारको अनुगमन फितलो हुदाँ यो समस्या देखिएको हो ।