दशैँलाई लक्षित गरि करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी

  • २८ आश्विन २०७५, आईतवार
  • कमल खत्री
  • 2148 पटक पढिएको

बेनी, २९ असोज । दशैँलाई लक्षित गरि यहाँबाट करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौ लगाएर ल्याईएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो ।

दशैँलाई लक्षित गरि यो बर्ष १६ हजार ७०० भेडाच्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोम स्थित सेवा केन्द्रका पशु चिकित्सक शिब भुषालले जानकारी दिए । । उहाँका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेडा २ हजार ७१५ वटा निकासी भएका हुन् ।

म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौ लगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीहरुले भेडाच्याङ्ग्रा गरिद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेडाच्याङ्ग्रा खरिद गरि लगेको पशु चिकित्सक भुषालले बताए ।

उनका अनुसार, सबै भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गरि निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमती दिने गरिएको छ । जोमसोम हुँदै हिडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा बेनीदेखि ट्रक मार्फत ढुवानी गरेर देशका विभिन्न ठाउँमा पु¥याईएको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले समेत व्यवसायिक रुपमा भेडाच्याङग्रा पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याईएका भेडाच्याङ्ग्रा निकासीबाट करिब ३५ करोड भित्रिएको छ ।

जोमसोममा च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेडा प्रतिगोटा १७ देखि १९ हजार सम्ममा खरिद विक्रि भएको थियो । अघिल्ला बर्षहरुको तुलनामा जोमसोममै भेडाच्याङ्ग्राको मुल्य महंगो भएको कारण बजारमा ल्याईएको भेडाच्यांग्राको मुल्य बढेको व्यवसायि नरबहादुर थापाले बताए ।

तीन महिना हिँडेरे भेडाच्याङ्ग्रा व्यापारको लागि मुस्ताङ हुँदै म्याग्दी आईपुगेका मुगुका बुेगेन लामाले स्थानीय तह पिच्छै कर तिर्नुपर्दा झण्झट भएको गुनासो गरेका थिए । मुगुको नांजालेक नाका हुँदै चाईनाको सिमानाबाट खरिद गरि १ हजार १ सय भेडाच्याङ्ग्रा विक्रि गर्न तीन महिना हिँड्नुपरेको लामाले बताए ।

हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेडाच्याङग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दशैँमा लेकाली भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l