गुर्जा पश्चिम आरोहणको लागि आधारशिविर पुगेको फ्रान्सेली टोली सुरक्षित

  • २७ आश्विन २०७५, शनिबार
  • 1814 पटक पढिएको

म्याग्दी, २८ असाेज ।  गुर्जा हिमाल आरोहणमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोली हिमआँधीमा परेको खवर सार्वजनिक भएको छ । यसै साता नै गुर्जा पश्चिम हिमाल आरोहणमा पुगेका टोली भने सुरक्षित रहेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित गुर्जा पश्चिम हिमालको नामले चिनिने घुस्तुङ पिक आरोहणको लागि आधार शिविर पुगेका पर्यटकहरु भने सुरक्षित रहेका छन् ।

फ्रान्स, क्यानडा र स्विजरल्याण्डका नागरिकहरुको ९ जनाको टोली आधार शिविरमा सकुसल रहेको उनका प्रतिनिधिहरुले जानकारी गराएको गुर्जाका वडा अध्यक्ष झक बहादुर छन्त्यालले जानकारी दिनुभयो । ‘‘यो टोलीका प्रतिनिधि शुक्रवार गाउँ आएका छन्, उनीहरु कुनैपनि खतरामा नरहेको जानकारी आएको छ’’–वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।

यो हिमाल आरोहणको लागि नेपाली पर्वतारोही राजन भोटेको नेतृत्वमा ७ जना फ्रान्स तथा १÷१ जना स्विजरल्याण्ड र क्यानडाका नागरिकको टोली आधार शिविरमा छन् । यो हिमाल ६ हजार ४६५ मिटर अग्लो छ । पर्यटन विभागले यो टोलीलाई ४५ दिनमा आरोहणको अनुमती दिएको छ ।

२०६५ सालमा चुरेन हिमाल आरोहण भएपनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि आरोही पर्यटकहरु आएका थिएनन् । यसै साता मात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणको लागि दुई आएपछि उत्साहित भएका स्थानीयबासी गुर्जा हिमालमा पुगेका पर्यटक ९ जना मध्ये ८ जनाको मृत्यु र १ जना बेपत्ता भएपछि दुखित भएका छन् । सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि पुगेका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा पुगेको टोली हिमआँधीमा परेर दुखत घटनामा परेका हुन् ।