करबाकेलीमा होमस्टे तालिम सम्पन्न

  • २७ आश्विन २०७५, शनिबार
  • 2171 पटक पढिएको

 

बेनी २७ असोज । अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शुक्रबार होमस्टे (घरबास) सेवा सम्बन्धी तालिम सम्पन्न भएको छ ।करबाकेली संरक्षण र व्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडाँैको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन भएको थियो ।

तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले पर्यटन विकास मार्फत ग्रामिण अर्थतन्त्रमा सुधार गर्न सकिने बताए । गत बैशाखदेखि सञ्चालनमा आएका करबाकेली इको पदमार्गमा समेटिएका काफलडाँडा, रिमा, राम्चे, लोप्रे र कुवापानीका ३५ जनाको सहभागिता रहेको करबाकेली संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी दिए ।

तालिमको सत्यनारायण शाह, समिक शर्मा, बद्री अर्यालले सहजिकरण गरेका थिए । स्वदेश तथा विदेशमा प्रचार–प्रसार भएको करबाकेली इको ट्रेकको भ्रमणमा आउने पर्यटकको खाना र आवास सुबिधा तथा स्थानीयबासीको आयआर्जनका लागि होमस्टे सञ्चालन गर्न तालिमको आयोजना गरिएको समितिका अध्यक्ष यामबहादुर पुनले बताए ।

पुन थरका मगर समुदायको ऐतिहाँसिक धार्मिक स्थल करबाकेलीलाई केन्द्र बनाएर बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई समेटेर करबाकेली इको ट्रेक सञ्चालन गरिएको सचिव रवी गर्बुजा पुनले बताए ।