दश विद्यालयमा वास समिति गठन

  • २६ आश्विन २०७५, शुक्रबार
  • 1615 पटक पढिएको

बेनी २६ असोज । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा धवलागिरी गाउँपालिकाको ५ वटा वडामा सञ्चालन भएको सामुदायिक विकास परियोजना अन्तरगत १० वटा विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भएको छ । विद्यालयमा खानेपानी र सरसफाईको अवस्थामा सुधार ल्याई शैक्षिक उपलब्धि वृद्धीमा सहयोग पु¥याउने उद्देश्यले गठन गरिएका समितिका पदाधीकारी र सदस्यहरुलाई परियोजनाको साझेदार संस्था कदम म्याग्दीले सहजिकरण गरेको छ ।


गुर्जाको जनकल्याण मा.बि, लुलाङको लुलाङ आधारभूत, लमसुङ मा.बि., खोरिया आधारभूत बिद्यालय, मुनाको धनजनता मा.बि., धवलागिरी आधारभूत बिद्यालय, मुदीको बुद्धिबिकास मा.बि, चन्द्रज्योती मा.बि, मराङको जनविकास मा.बि. र जनविकास आधारभूत बिद्यालयमा शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिती, बिद्यालय स्तरको महिनावारी सम्पर्क शिक्षक, बाल क्लब, सेवा प्रदायक स्वास्थ्य संस्था र सम्बन्धीत वडाका वडा सदस्य सहित ९ जनाको समिती रहने गरी गठन गरीएको हो ।

विद्यालय स्तरीय समितिका एक, एक जना प्रतिनिधिहरुलाई गाउँपालिका स्तरमा दुई दिने तालीम समेत प्रदान गरिएको कदम म्याग्दीका जनस्वास्थ्य सहायक निरमाया मिजारले बताउनुभयो । परियोजनाको कार्यक्षेत्र भित्र रहेका १९ वटा बिद्यालय अन्तर्गतका बिद्यार्थीहरुको स्वास्थ्य सुधार र व्यक्तिगत सरसफाई सँगै समुदाय र बिद्यालय स्तरमा सरसफाईको अवस्था सुधारको लागि नियमित रुपमा कार्यक्रम सञ्चालन गरिएको छ ।