एक दशकपछि गुर्जा हिमालमा आरोही टोली

  • २६ आश्विन २०७५, शुक्रबार
  • कमल खत्री
  • 4471 पटक पढिएको

बेनी, २६ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणको लागि एक दशकपछी हिमाल आरोहीहरु आएका छन् । २०६५ सालमा चुरेन हिमाल आरोहण भएपनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि आरोही पर्यटकहरु आएका थिएनन् । यसै साता मात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ प्रस्थान गरेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आरोहणको लागि त्यसतर्फ लागेका हुन् । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरि आधार शिविरतर्फ लागेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयउो ।

उहाँका अनुसार, गुर्जामै रहेको अर्को हिमाल घुस्तुङ पिक आरोहणको लागि फ्रान्स, क्यानडा र स्विजरल्याण्डका नागरिकहरुको एक टोली समेत आधार शिविर तर्फ लागेको छ । नेपाली पर्वतारोही राजन भोटेको नेतृत्वमा ७ जना फ्रान्स तथा १/१ जना स्विजरल्याण्ड र क्यानडाका नागरिकको टोली हिमाल आरोहणका लागि आएका हुन् ।

गुर्जा पश्चिम हिमालको नामले समेत चिनिने यो हिमाल ६ हजार ४६५ मिटर अग्लो छ । पर्यटन विभागले यो टोलीलाई ४५ दिनमा आरोहणको अनुमती दिएको छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल अवस्थित रहेको गुर्जामा २०६५ सालपछि यो बर्ष हिमाल आरोहीको टोली आएपछि स्थानीय उत्साहीत बनेका छन् ।

यहाँ गुर्जा सात हजार १९३ मिटर, गुर्जा पश्चिम ६ हजार ४६५ मिटर, चुरेन सात हजार ३७१ मिटर, पुथा सात हजार २६१ र म्याग्दीमाथा ७ हजार मिटर भन्दा भन्दा अग्ला अग्ला हिमाल रहेका छन् । दुई आरोही टोलीको सामान आधार शिविर सम्म पु¥याउन गुर्जाका ६६ जनाले छोटो अवधिको लागि रोजगारि समेत पाएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l