मल्लाज कोतको पुननिर्माण (फोटो फिचर)

  • २६ आश्विन २०७५, शुक्रबार
  • 3294 पटक पढिएको

मल्लाज २६ असोज । स्थानीयबासीले डेढ करोड रुपैया लगानी गरेर जलजला गाउपालिका ३ स्थित ऐतिहाँसिक मल्लाज कोत मन्दिरको पुनःनिर्माण गरेका छन् ।
वाईसे चौवीसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनःनिर्माणका साथै पूर्वाधार निर्माण भएको हो ।

मन्दिरको पुननिर्माण, पुर्वाधार विकास, व्यवस्थापन र संरक्षणका लागि तयार पारिएको गुरुयोजना अनुसार पछिल्लो तीन वर्षयता एक करोड चालीस लाख रुपैया लगानी भएको कोतपुजा ब्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर जिसीले बताउनुभयो । वि.स २०७२ मंसिर २५ देखि पुष ५ गतेसम्म सञ्चालित श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञमा संकलित रकमबाट मन्दिरको पुननिर्माण, पुजा स्थल, भवन निर्माण र कोत परिसरको खेलमैदान विस्तार गरी प्याराफिट बताइएको छ । मन्दिरको प्रवेशद्धार नजिकै एक जोडी बाघको शालीक बनाइएको छ ।

महायज्ञमा एक करोड ७१ लाख ४४ हजार १४ रुपैया संकलन भएकोमा १८ लाख ४५ हजार ९०२ रुपैया बचत रहेको मल्लाज कोत पुननिर्माण समितिका कोषाध्यक्ष डम्मरबहादुर कार्कीले बताउनुभयो । काठमाडौको ताहचल निवासी शिवकुमार श्रेष्ठले बुवा बाबुलाल र आमा बालकुमारीको स्मृतिमा पैतिस लाख रुपैया खर्च गरेर कोत मन्दिरको पुननिर्माण गर्नुभएको हो । कोत मन्दिर परिसरमा सचिवालय, व्यवसायीक प्रयोजनका लागि भवन र प्रवेशद्धार निर्माण भएको छ । करिब पाँच सय वर्ष पुरानो कोत मन्दिर वाईसे चौबीसे राज्यका पालामा तत्कालीन मल्लाज राज्यका राजाले पुजाआजाका लागि निर्माण गरेका थिए ।

कोत मन्दिरको जिर्णोद्धार गरि नयाँ संरचना निर्माण भएपछि पुजा व्यवस्थापनमा सहज हुनुका साथै मन्दिरको धार्मीक पर्यटन प्रर्वद्धनमा सहयोग मिलेको कोत मन्दिर निर्माण समितिका अध्यक्ष टेकबहादुर जिसीले बताउनुभयो । हरेक वर्षको रामनवमी र बडा दसैको समयमा पुजाआजा हुने उक्त कोत मन्दिरको दर्शन तथा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । कोतमन्दिर प्रतिको धार्मीक विश्वास, ऐतिहाँसीक स्थल, मल्लाज दरवार र म्याग्दी सदरमुकाम बेनी बजारदेखि नजिक हुनु, पदमार्ग र सडकको सुबिधा भएकाले यस स्थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको वडा अध्यक्ष देवेन्द्र भण्डारी रवीले बताउनुभयो ।


कोत मन्दिर नजिकै रहेको ऐतिहाँसीक मल्लकालीन दरबारको पुननिर्माण गरेर होटल सञ्चालन भएको छ । उक्त स्थानबाट धौलागिरी हिमालको दृष्यअवलोकन पनि गर्न सकिन्छ । कोतमन्दिरमा भक्तजन तथा पर्यटक भित्र्याउनका लागि म्याग्दी बेनीको कालीपुलदेखि डिलफाँटसम्म निर्माण भएको पक्कि सिढी सहितको पदमार्गलाई कोतसम्मनै विस्तार गर्ने तयारी भएको छ । यसैबीच कोतमन्दिरको बिहीबार संस्कृती, पर्यटन तथा नागरीक उड्ययन मन्त्री रविन्द्र अधिकारी र चन्दादाता श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । मन्त्री अधिकारीले राजनीतिक विमती छाडेर विकासमा सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

‘राजनितिक, व्यक्तिगत स्वार्थ र विवादलाई छाडेर अवको चुनावसम्म सहकार्य गरेर अघि बढ्नुपर्छ’ मन्त्री अधिकारीले भन्नुभयो ‘प्रतिपक्षले सत्तापक्षको कमजोरीलाई औल्याएर सही बाटोमा हिड्ने वातावरण बनाउनुपर्छ ।’ उहाँले मल्लाजको पर्यटन विकासका लागि देखिने गरी काम गर्ने बताउनुभयो । सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरी र पूर्व सांसद अर्जुनप्रसाद जोशीबीच भाषणमा जुहारी चलेको थियो । पूर्व सांसद जोशीले आफूले बनाएको सडकमा गाडी चढेर हिड्ने अनी आफैलाई विकास गरेन भनेर गिरीको टिप्पणी गर्नुभएको थियो भने सांसद गिरीले बिउ रोप्ने वित्तिकै फल नलाग्ने वैज्ञानिक नियमको पनि हेक्का राख्नुपर्ने भन्दै जोशीको टिप्पणीको खण्डन गर्नुभएको थियो ।

भगवती कोत मन्दिर संरक्षण समितिका अध्यक्ष टेकबहादुर जिसीको अध्यक्षता, बाबुराम कार्कीको सञ्चालन र भगवती कोत पुजा ब्यवस्थापन समितिका अध्यक्ष डम्मर जिसीको स्वागतमा समपन्न कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, सहयोगदाताको परिवारको तर्फबाट शरणकुमार कर्माचार्य लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।