म्याग्दीमा नेकपाको संयन्त्र गठन, ६ वटै स्थानीय तहमा संयन्त्र निर्माण

  • २५ आश्विन २०७५, बिहीबार
  • 3180 पटक पढिएको

बेनी, २५ असोज । म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार पार्टीको नयाँ संरचना तयार नहुँदा सम्म पार्टीका गतिविधिलाई अगाडी बढाउनको लागि जिल्ला स्तर देखि स्थानीय तहसम्मको पार्टीको संयन्त्र निर्माण गरिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिचको एकतापछि बनेको नेकपाको जिल्ला संयन्त्रको विहिवार बसेको बैठकले जिल्लाको ६ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरेको नेकपाका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

पार्टीको जिल्ला संयन्त्रमा साविकका दुबै पार्टीबाट ५/५ जनालाई राखिएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा पार्टीको जिल्ला र स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको हो ।
जिल्ला पार्टी संयन्त्रमा साविक एमालेबाट प्रतिनिधिसभाका सांसद थापा, हरिकृष्ण श्रेष्ठ, देवेन्द्रवहादुर केसी, बालकृष्ण सुवेदी, देवबहादुर घले रहनुभएको छ भने साविक माओवादी केन्द्रबाट पूर्व सांसद गोविन्द पौडेल, शेरवहादुर केसी, रेशम जुग्जाली (सुविन), देवराज सुवेदी र टेकवहादुर विश्वकर्मा रहनुभएको छ ।
पार्टी केन्द्रले अर्को व्यवस्था नगरेसम्मको लागि दुई पार्टीबिच भएको एकतापछि बनेको नेकपाको पार्टी सञ्चालनको लागि संयन्त्रले जिल्ला कमिटीकै अधिकारमा रहेर भुमिका निर्वाह गर्ने जनाईएको छ । नेकपाको नगरपालिका तथा गाउँपालिका स्तरीय संयन्त्रमा तत्कालिन दुबै पार्टीबाट पदाधिकारी तहका नेताहरुलाई राखीएको छ ।

स्थानीय तह स्तरीय नेकपाको संयन्त्र अनुसार बेनी नगरपालिकामा प्रमोद श्रेष्ठ, विनोद केसी, राजकुमार थापा,बेलवहादुर चोखाल, नारायण जिसी , शेर वहादुर केसी, कुशल पौडेल, पदम पुन चयन हुनुभएको छ । त्यसैगरि रघुगंगामा दिपक कार्की, रिम कटुवाल, निरज पुन, हरि भण्डारी, ध्रुव सुवेदी र पदम शेरपुञ्जा चयन हुनुभएको छ । अन्नपूर्णमा नारायण पुन, बागविर पाइजा, श्याम राना, पूर्ण पाइजा, खड्क गिरी र सुवास विक चयन हुनुभएको छ ।

मंगला गाउँपालिकामा प्रेमप्रसाद रेग्मी, सतप्रसाद रोका, याम वहादुर रोका , देवराज सुवेदी, चन्द्र बुढा र रत्न विक चयन हुनुभएको छ । मालिका गाउँपालिकामा रेशम जुग्जाली, बेगप्रसाद गर्बुजा,राजेन्द्र शेरचन,खरमाया विटालु, गोविन्द सिउथानी र कर्ण रोका गाउँपालिकाको संयन्त्रमा चयन हुनुभएको छ । धौलागिरी गाउँपालिकामा देउप्रसाद छन्त्याल, थमसरा पुन, खुमनाथ सुवेदी, कलानिधि सुवेदी, झकवहादुर छन्त्याल र यमन रोका संयन्त्रमा चयन हुनुभएको छ ।
जिल्ला पार्टी संयन्त्रको पहिलो बैठकले असोज २९ गते बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान समारोहको आयोजना गरिएको जनाईएको छ । त्यसैगरि आगामी मंसिर ८ गते बृहत कार्यकर्ता भेला गर्ने निर्णय समेत भएको नेकपाका केन्द्रिय सदस्य समेत रहनुभएका प्रतिनिधि सभाका साँसद थापाले जानकारी दिनुभयो ।