पर्यटकीय पुनहिलमा पर्यटकको चहलपहल बढ्यो ( फोटो फिचर)

  • २५ आश्विन २०७५, बिहीबार
  • कमल खत्री
  • 2657 पटक पढिएको

बेनी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीय स्थल पुनहिलमा पर्यटकहरुको भिड बढेको छ । घोडेपानीको शिरमा समृन्द्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकनको लागि असोज महिनाको सुरुवातदेखि नै पर्यटकहरुको आगमन बढेको हो । अहिले दैनिक ४ सय देखि ७ सय सम्म पर्यटकहरु आउने गरेको पुनहिलका व्यवस्थापक बिरेन गर्वुजा पुनले बताउनुभयो । उहाँका अनुसार, घोडेपानी हुँदै पुनहिल क्षेत्रको भम्रणमा आउने अधिकाँश पर्यटक बाह्य मुलुकका रहेका छन् । दशैँको विदाको समयमा आन्तरिक पर्यटकहरु समेत बढ्न थालेको उहाँले बताउनुभयो ।

गुँरासे जगल हुँदै पुनहिल पुगेका पर्यटकहरु विहानीको सुर्योदयको अवलोकनको संगै गुर्जा,धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े निलगिरि लगायतका दर्जनौ हिमशृङ्खलाको अवलोकन गरि फर्कने गरेका छन् । अन्नपूर्ण फेरोको पदमार्गले समेटीएको पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेकाले आफु ४ पटक सम्म यस क्षेत्रको भ्रणमा आएको पुनहिलमा पुगेका क्यानडका पर्यटक नर्मनले बताउनुभयो । ‘‘ म ७८ अबर्षको भएँ, मलाई यो ठाउँ असाध्यै मन पर्छ, म चार पटक नेपाल आएँ, चारै पटक यसै क्षेत्रको भ्रमणमा आएको छु, यहाँको सुन्दरता र पर्यटकीय व्यवस्थापनले मलाई आकर्षित गरेको छ’’–उहाँले भन्नुभयो ।

विभिन्न क्षेत्रबाट आउने पर्यटकहरुको आवास र खानाको लागि घोडेपानीमा २३ वटा सुविधासम्म होटलहरु सञ्चालनमा छन् । पर्यटक आगमन बढ्दै गएपछि होटल व्यवसायिहरुले समेत सेवा सुविधालाई गुणस्तरीय बनाउँदै लगेको स्थानीय होटल व्यवसायी ओमनारायण पुनले बताउनुभयो । ‘‘ पहिले केही समस्या थियो, अहिले यहाँका व्यवसायिहरुले होटलको क्षमता विस्तार गर्दै लगेका छन्, यहाँ आउने पर्यटहरुलाई खान र बस्नको कुनै समस्या छैन, हामीले पर्यटकहरुलाई आरामदायी बसाईलाई ध्यानमा राखेर सेवा दिँदै आएका छौँ’’–उहाँले भन्नुभयो ।

घोडेपानी र पुनहिल क्षेत्रको भम्रणमा बार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रने गरेका छन् । यहाँ पर्यटकहरुलाई थप आकर्षित गर्न पदमार्गलाई नियमित सरसफाई गर्ने व्यवस्था गरिएको छ भने प्लाष्टिक मुक्त बनाईएको छ । कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा , फुलवारी भएर घोडेपानी पुग्न सकिन्छ । पर्यटकीय पुनहिलमा प्रवेश टिकट र चिया पसलको लागि यो बर्ष मात्रै अन्नपूर्ण गाउँपालिकाले रु ७० लाखमा ठेक्का लगाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l