सामुदायिकमा दशैं–तिहार विशेष कार्यक्रम

  • २४ आश्विन २०७५, बुधबार
  • 1979 पटक पढिएको


म्याग्दी, २४ असोज । जिल्लाको सदरमुकाम बेनीस्थित रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा मङ्गलबार दशैं–तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाँचदिने खेलकुद कार्यक्रम तथा प्रथम चौमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि स्थानीय तहदेखि संघसम्म सबै पक्षको बराबर दायित्व रहेको बताएका छन् । उनले शैक्षिक क्षेत्रमा गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै प्राविधिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए ।


कार्यक्रममा विद्यार्थी तथा अभिभावकतर्फका विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण, प्रथम चौमासिक परीक्षाको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण, कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरुको नृत्य प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको अवसरमा अभिभावकत्वबाट वञ्चित विद्यालयको कक्षा ५ मा अध्ययनरत बेनपा भकिम्लीकी सुमित्रा पुनलाई सहयोग हस्तान्तरण गरिएको थियो ।
पुनलाई ग्लोबल होस्टेल प्रालि बेनीको तर्फबाट व्यवस्थापक गोकुल शर्माले कक्षा १२ सम्मको लागि गास र बासस्वरुप सातलाख २० हजार बराबरको डमी चेक र बेनपा भकिम्ली हाल अमेरिकाका याम पुनले ५० हजार नगद हस्तान्तरण गरिएको छ । यसैगरी विद्यालयका शिक्षकद्वय यादव रिजाल र नगेन्द्र खत्रीले पुनलाई पाँचपाँच हजार सहयोग गरेका छन् ।


कार्यक्रममा बेनपा–७, का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, बेनपा–६, का वडाध्यक्ष कृष्णबहादुर बानियाँ, बेनपाका शिक्षा अधिकृत विश्वप्रकाश रेग्मी, प्रकाश मावि स्रोत केन्द्रका स्रोतव्यक्ति मोहन बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रम विव्यस अध्यक्ष नारायणबहादुर कार्कीको अध्यक्षता, प्रअ दिपक श्रेष्ठको स्वागत तथा शिक्षक टिकानाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।