धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम ओझेलमा (फोटो फिचर)

  • २२ आश्विन २०७५, सोमबार
  • कमल खत्री
  • 5791 पटक पढिएको

बेनी, २२ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम प्रचार प्रसारको अभाबमा ओझेलमा परेका छ । करिब २ सय बर्ष पुरानो इतिहाँस बोकेको स्वर्गाश्रम ऋषिमुनीहरुले तपस्या गरि ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । शान्त र मनोरम स्वर्गाश्रममा अहिलेपनि तपस्बीहरु आउने गरेको वडा अध्यक्ष पदम पुनले बताउनुभयो । उहाँका अनुसार, अहिले यहाँ एक जना तपस्बी आएर तपस्या गरिरहेका छन् ।

समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाईमा अवस्थित स्वार्गाश्रम प्राकृतिक रुपमा रमणीय र धार्मिक ऐतिहाँसिक महत्व बोकेको भएपनि प्रचार प्रसारले ओझेलमा परेको हो । स्थानीय तवरबाट पुर्वाधार विकासमा पहल भैरहेपनि सरकारी तवरबाट एथेष्ट पहल हुन नसक्दा यो क्षेत्रको बारेमा प्रचार प्रसार हुन नसकेको वडा सदस्य रत्न बहादुर जिसीले बताउनुभयो ।

आश्रममा १२ बर्षसम्म तपस्या गरि बस्नुभएकी इन्दीरा माताको नेतृत्व र स्थानीयको पहलमा केही बर्ष अगाडी सञ्चालित महायज्ञबाट संकलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तिर्थालु बस्ने सत्तल निर्माण गरिएको स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिसीले बताउनुभयो ।

‘‘एकान्त र ज्ञान प्राप्त हुने भएकाले अहिलेपनि तपस्बीहरु तपस्या गर्न आउने गरेका छन्, आश्रमको नजीकै रहेको गुफामा तप्तऋषिहरुले तपस्या गरेको किम्बदन्ती छ, स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तिर्थस्थलको दर्शन र मनोकामना पुरा हुने जनविश्वास समेत रहेको छ’’– स्थानीय युवा तारामिलन छन्त्यालले भन्नुभयो ।

अहिले दैनिक रुपमा पुजा हुने यस स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजार सहित, दर्जनौँ गाउँबस्तीहरुलाई समेत अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रममा हरेक बर्षको वैशाख १ गते रथयात्रा समेत गरिँदै आईएको छ । पुरानो इतिहास बोकेको आश्रमको प्रचार प्रसार गरि पर्यटन विकास गर्न सकेमा यस क्षेत्रमा धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने स्वर्गाश्रम युवा क्लबका सचिब जित बहादुर घर्तिले बताउनुभयो ।

आश्रम नजीकै रहेको गुफामा धेरै तपस्बीहरुले तपस्या गरेको इतिहाँस बोकेको यस क्षेत्रको प्रचार प्रसार संगै पदमार्ग, आश्रमस्थललाई थप व्यवस्थित गर्ने, मन्दिर निर्माण गर्ने र ध्यान एवम् तपस्या गर्ने व्यवस्थित थलो बनाउने योजनालाई बजेटको लागि पहल गरिरहेको स्वर्गाश्रम युवा क्लबका सल्लाहकार समेत रहेका छन्त्यालले बताउनुभयो ।

स्थानीयले स्वर्गाश्रमदेखि करिब एक घण्टाको पैदल दुरीमा रहेको बेलढुंगा र स्वर्गाश्रमलाई एकिकृत रुपमा धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न अग्रसरता देखाएका छन् । भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा प्राकृतिक भ्युटावरको रुपमा रहेको बेलढुंगालाई प्रचार प्रसार, पदमार्ग लगायतका पूर्वाधार निर्माण गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने स्थानीयको योजना छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l