म्याग्दीमा विभिन्न कार्यक्रम गरेर ६० औ सहकारी दिवस मनाइयो

  • २० चैत्र २०७३, आईतवार
  • सन्तोष गौतम
  • 1909 पटक पढिएको

बेनी २० चैत । बेनीमा आईतबार विभिन्न कार्यक्रम गरेर ६० औ सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघको आयोजनामा बेनीमा ¥याली, सम्मान र समारोहको आयोजना गरेर दिवस मनाइएको हो ।    दिवसको अवसरमा पत्रकारीताको माध्यमबाट सहकारीको प्रर्वद्धनमा योगदान गरेकोमा पत्रकार हरिकृष्ण गौतमलाई नगद तिन हजार सहित संघले सम्मान गरेको छ । पत्रकार गौतमले पुरस्कार वापत प्राप्त गरेको मध्य एक हजार पाँच सय रुपैया ताकमका दृष्टिबीहीन जलन र सुस्मीता बिकका छोरीहरुको अध्ययनका लागि सहयोग गर्नुभयो ।

दृष्टिबीहिन बिक दम्पती र छोरीहरुलाई दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठीदान अभियान अन्तरगत सहयोग गरेको छ । ¥याली तथा झाँकीमा नारी जागृती प्रथम, दिदीबहिनी दितृय, लोकदिप तितृय र संगीनी सहकारी सान्तवना भएका थिए ।
प्रथम, दितृय, तितृय र सान्तवनालाई क्रमश नगद तिन हजार, दुई हजार, एक हजार र पाँच सयको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले राज्यले अबलम्बन गरेको तिन खम्बे अर्थनितीको ब्यवहारीक कार्यान्वयनका लागि सहकारीको सक्रिय भुमिका आवश्यक रहेको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य, दोभान कृषि सहकारी संस्थाकी अध्यक्ष अमृतादेवी बानिया र नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र गरिवी निवारणका लागि सहकारी केन्द्रित हुनुपर्ने बताउनुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की बिखर्चीको अध्यक्षता र सचिव रामप्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बेनीको दिदी बहिनी सहकारी संस्थालाई सहकारी डिभिजन कार्यालय बागलुङले अञ्चलकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत गरेका छ ।

यसैगरी बेनीको मुक्तिनाथ सहकारी संस्थाले आगोलागीबाट भवन जलेर क्षत्ती पुगेको बालमन्दिर आधारभुत विद्यालयलाई २५ हजार रुपैया बराबरको दराज सहयोग गरेको छ । मिलनचोकको कृष्णगंगा सहकारीले दिवसको अवसरमा ¥याली, मृगौलारोगीलाई सहयोग र फोहोर संकलन केन्द्र स्थापना गरेको छ ।

सन्तोष गौतम