रुईसे–भेडिओढारको पर्यटन प्रर्वद्धनका लागि साईकलयात्रा ( फोटोफिचर)

  • २० आश्विन २०७५, शनिबार
  • धिरन खत्री
  • 2865 पटक पढिएको

रघुगंगा २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको रइसे–भेडिओडार क्षेत्रको पर्यटन विकासका लागि प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार साईकल यात्रा गरिएको छ । रघुगंगा गाउँपालिकाको संयोजनमा राखु समाज कल्याण समिति काठमाडौको आयोजनामा पर्वतको मालढुङ्गा देखि भगवतीको रइसेसम्म ३५ किलोमिटर साईकल यात्रा गरीएको हो ।

म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर नयाँ गन्तब्यको प्रचारप्रसार गरी स्वदेशी तथा बिदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको समाजका अध्यक्ष प्रेम मल्लले बताए । अध्यक्ष मल्ल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले मालढुङ्गामा साईकल यात्राको उद्घाटन गरेका थिए ।
जलजला गाउँपालिकाको मिलनचोक, पर्वत बेनी, म्याग्दी बेनीको कालीपुल, गलेश्वर, पिप्ले, भगवती हुदै करिब तीन घण्टामा साईकल यात्रीको टोली समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाइमा अवस्थित रुइसे पुगेको थियो ।

टासी दोर्जे गुरुङको नेतृत्वमा काठमाण्डौबाट आएको साईकलयात्राको टोलीमा साइकल दौड प्रतियोगिताका राष्ट्रिय खेलाडीहरु अजय पण्डीत क्षेत्री, बुद्धीबहादुर तामाङ, आइमान तामाङ लगायतका १० जनाको सहभागी थिए ।सो टोलीलाई कालीपुलको सूचना केन्द्रमा म्याग्दी उद्योग वाणिज्य संघ, राहुघाटमा रघुगंगा गाउँपालिका, पिप्लेमा वडा कार्यालय र रघुगंगा मावि, तथा भगवतीमा वडा कार्यालय र मुक्तिधाम मावि र आमासमुहले स्वागत गरेका थिए ।

बेनी देखि करिब २० किलोमिटर दुरीमा अवस्थित रुइसेमा पर्यटक भित्र्याउन साईकलयात्राको माध्यमबाट प्रचारप्रसार हुने गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।धवलागिरी आईसफलपदमार्ग अन्तरगत पर्ने रुइसे र भेडिओडार क्षेत्रबाट सुर्योदय, हिमऋङखला, पहाडी भुगोल, वनजंगलको दृष्यअवलोकन गर्न सकिने वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।


भ्रमण बर्षलाई लक्षित गरेर आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएर सम्भावना युक्त पर्यटकियस्थलको पर्यटन प्रवद्र्धन गर्नका लागि साईकल यात्रा गरिएको राखु समाज कल्याण काठमाण्डौका प्रवक्ता प्रविन मल्लले बताए । बेनी, गलेश्वर, गायत्री मन्दिर भगवती कोत, रुइसे, नौलीबराह, भेडिओडार, बेग स्थित नेपालकै लामो झोलुङ्गे पुललाई समेटेर एक दिने साईकल टे«ल विकास गर्न सकिने राखु समाजका पूर्व उपाध्यक्ष केबी भण्डारीले बताए ।

साईकल यात्रीहरुलाई गाउँपालिका र वडा ब्यवस्थापनमा पर्यटकियस्थल रुईसे–भेडिओढारमा बस्ने वातावरण मिलाईएको थियो । सो क्षेत्रमा महासचिव राजेन्द्र मल्ल, वडा ३ का वडा अध्यक्ष जीवन मल्ल लगायतको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l