रघुगंगा गाउँपालिकाको विवाद मिलाउने कसरत

  • २० चैत्र २०७३, आईतवार
  • 3784 पटक पढिएको

म्याग्दी, २० चैत । गाउँपालिकाको केन्द्र विवादले कार्यान्वयनमा आउन नसकेको रघुगंगा गाउँपालिकामा समावेश गाविसहरुलाई दुई वटा गाउँपालिका बनाउने तयारी सुरु भएको छ । निर्वाचनको मिती नजीकिएपनि केन्द्र विवादले कार्यान्वयनमै आउन नसकेको गाउँपालिकाको समस्यालाई समाधान गर्न कसरत थालिएको हो ।

सरकारले निर्वाचन अगाडी सिमांकनलाई हेरफेर गर्न नसक्ने जनाएपछि एक गाउँपालिका थप गरेर भएपनि समस्या समाधान गर्न प्रयास भईरहेको नेकपा माओवादी केन्द्रका नेता विनोद केसीले बताउनुभयो । उहाँले चारदिनदेखि मन्त्री, प्रधानमन्त्री र प्रधानमन्त्रीका सल्लाहकारदेखि पार्टीका शिर्ष नेताहरुसंग समेत भेटघाट गरि समस्या समाधानबारे प्रयास गरिरहेको जानकारी दिनुभयो ।
रघुगंगा गाउँपालिकाको समस्याबारे प्रधानमन्त्रीका राजनितीक सल्लाहकार चक्रपाणी खनाल (बलदेव)ले गत चैत ७ गते स्थलगत निरीक्षण समेत गरिसकेकाले सरकार रघुगंगा गाउँपालिकाको समस्या समाधानमा सकारात्मक देखिएको टोलिमा सहभागि हरि भण्डारीले बताउनुभयो ।  सरकारले मधेसकेन्द्रित दलहरुको वार्ताका क्रममा तराईमा केही स्थानीय तह थप गर्न सक्ने भएकाले सो क्रममा रघुगंगा गाउँपालिकाको समस्यालाई समेत सम्बोधनको लागि आफुहरुले दबाब दिएको उहाँले बताउनुभयो ।
रघुगंगा गाउँपालिकाको भौगोलिक अबस्थाबारे स्थलगत निरिक्षणको क्रममा समेत प्रधानमन्त्रीका सल्लाहकार खनालले रघुगंगा गाउँपालिकामा रघुगंगा खोला वारी र पारीका गाविसहरुलाई समावेश गर्नुनै गम्भिर कमजोरी भएको बताउँदै सो समस्या समाधानको लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रघुगंगा गाउँपालिकामा समावेश ८ गाविसहरुको केन्द्र सरकारले राजपत्र मार्फत पाखापानी तोकेर पठाएपछि पिप्ले, भगवती र बेगखोलाका स्थानीयले सो केन्द्र अपायक पर्ने भन्दै आन्दोलन थालेका थिए ।

जिल्ला स्थित तत्कालिन स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति र जिल्ला स्थित राजनितीक दलहरुले अबैज्ञानिक रुपमा रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट या पाखापानी भएर पठाएपछि आयोगले अस्थायी रुपमा पाखापानीलाई केन्द्र तोकेको हो ।
हाल कायम गरिएको अस्थायी केन्द्र पाखापानीमा पुग्नको लागि पिप्ले, भगवती र बेगखोला संगै दग्नाम र चिमखोलाका बासिन्दाहरुलाई समेत सो केन्द्र सास्तीपूर्ण देखिएको छ ।

जस्को कारण स्थानीयको आन्दोलनले गर्दा गाउँपालिका कार्यान्वयनमा आउन सकेको छैन । सरकारले गाउँपालिका कार्यान्वयनमा ल्याएको तीन साता वितीसक्दा समेत रघुगंगा गाएँपालिकामा अहिलेसम्म कार्यालय सञ्चालनमा आउन सकेको छैन् । यस गाउँपालिकामा समावेश अधिकाँश साविकका गाविसहरुमा वडा कार्यालय समेत स्थापना हुन नसकेको भगवतीका अगुवा रिम कटुवालले बताउनुभयो । सरकारले राजपत्रमा रघुगंगा गाएँपालिकाको केन्द्र पाखापानी तोकेपनि त्यस गाउँपालिमाका समावेश पाँच गाविसका बहुसंख्यक जनतालाई अपायक पर्ने देखिएपछि गाउँपालिका कार्यान्वयन गर्न नसकिएको हो ।
भौगोलिक बिकटताको कारण गाउँपालिकामा समावेश आठ गाविसहरु झिं, पाखापानी, कुइनेमंगले, चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोलाका नागरिकहरुलाई एउटै केन्द्रबाट सेवा सुविधा लिन अपाएक देखिएपछि त्यस क्षेत्रका सरोकारवालाहरुले गाउँपालिका थप गरि विवाद समाधान गर्न माग गरेका छन् । रघुगंगा गाउँपालिका अन्र्तगतका साविकका आठ वटा गाविसमा रहेका क्रियाशिल राजनितीक दलहरु, जिल्ला स्थित राजनितीक दलमा प्रतिनिधित्व गर्ने अगुवा नेताहरु र सरोकारवालाहरुको हालै बेनीमा भएको छलफलबाट उनीहरुले रघुगंगा खोला वारी र पारिका बस्तीहरुलाई पाएक पर्ने गरि दुई वटा गाउँपालिका माग गर्ने निर्णय समेत गरेका छन् ।
भू–वनोट र बिकटताको कारण नागरिकलाई सेवा सुविधा लिन सहज होस भनेर रघुगंगा पारिका बेगखोला, भगवती, पिप्ले, दग्नाम र चिमखोला गाविसलाई मौवाफाँट केन्द्र रहनेगरि गाउँपालिका बनाउनुपर्ने र झिँ, पाखापानी र कुईनेमंगले गाविसलाई समेटेर पाखापानी केन्द्र रहने गरि अर्को गाउँपालिका बनाउन माग गरिएको हो ।