महिलाहरुलाई लैङ्गिक विभेदविरुद्ध पैरवीसम्बन्धी तालिम

  • ८ आश्विन २०७५, सोमबार
  • 1381 पटक पढिएको

म्याग्दी, ८ असोज। महिलाहरुका लागि सशक्तिकरण र लैङ्गिक विभेदविरुद्ध पैरवी तथा उद्घोषण तालिम बेनीमा आईतबारदेखि सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना, सिविन नेपालको संयोजन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो ।

महिलाहरुलाई सशक्तिकरण गराउने तथा लैङ्गिक हिंसाविरुद्ध पैरवी गर्ने र उद्घोषणकला सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले बताइन् । तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, महिला सशक्तिकरण, लैङ्गिक हिंसा न्युनीकरण, उद्घोषणकला लगायतका विविध विषयहरुमा सहजीकरण गरिने आयोजकले जानकारी दिएको छ ।

तालिममा बेनी नगरपालिकाका महिला जनप्रतिनिधिहरु, महिला सहकारीकर्मी, बेनपाका महिला कर्मचारीहरु, एकल महिला, योङ्ग गल्र्स नेटवर्कमा आबद्ध किशोरीहरु, आमा समूहका पदाधिकारीसहित ४० जनाको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने तालिमको प्रमुख प्रशिक्षक एवं सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरिरहेकी छिन् ।
उपप्रमुख बरुवालको अध्यक्षता र सिविन नेपाल म्याग्दीका जिल्ला संयोजक प्रेम सोङ्गमेनको सञ्चालनमा सम्पन्न तालिमको उद्घाटन भएको थियो ।