घारखोलामा किन भयो अवरोध ?

  • ७ आश्विन २०७५, आईतवार
  • सन्तोष गौतम
  • 3590 पटक पढिएको

घार ७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य ठप्प बनेको छ ।अन्नपूर्ण गाउँपालिका ५ शिखका बासिन्दाहरुले विभिन्न माग राख्दै म्याग्दी हाईड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माण कार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दाहरु बाँध र सुरुङ निर्माण स्थल कुरीला बगरमा पुगेर काममा अवरोध गरेपछि निर्माण ठप्प भएको आयोजनाले जनाएको छ ।

आयोजनाले विगतमा पटक पटक प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेकाले बाध्य भएर अवरोधमा उत्रनु परेको संघर्ष समितिका संयोजक समेत रहनु भएका शिखका वडा अध्यक्ष दिनेश पुनले बताउनुभयो ।२०७५ भदौ २५ गते भएको शिखका बासिन्दाको भेला र छलफलले आयोजनासंग ७ बुदे माग राख्दै आन्दोलनमा उत्रने निर्णय गरेको थियो । सम्भावीत माथिल्लो घारखोला जलविद्युत आयोजनालाई असर नपर्ने गरी घारखोला जलविद्युत आयोजनाको बाँध निर्माण गर्नुपर्ने उनिहरुको पहिलो माग छ ।


आयोजना प्रभावित शिख र घारका बासिन्दाको नियमित आयस्रोत र आयोजना प्रती अपनत्व कायम गराउन एक घर एक सेयर, वडाले निर्धारण गर्ने कोटा अनुसार कम्पनीले शेयरमा लगानीका लागि प्रति परिवार पचास हजार रुपैया सम्म शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने र प्रभावीत वडामा रहेका संस्था तथा अन्य समूह र कल्वहरुलाई पनि सेयर लगानीको अवसर दिनुपर्ने माग गरेका छन् ।
आयोजना सम्पन्न भएपछि वार्षिक रुपमा कूलआयको एक प्रतिशत प्रभावित क्षेत्रको विकासमा उपलब्ध गराउनुपर्ने तथा शिख र घारबाट एक÷एकजनालाई सञ्चालक समितिम ानियुक्त गर्नुपर्ने माग गरेका छन् । आयोजनाप्रति घार, खिवाङ र पाउद्धारका बासिन्दाले पनी थप माग गरेका छन् ।


घार र खिवाङकाबासिन्दाले आयोजना निर्माणलाई वातावरण मैत्री बनाउनुपर्ने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनीक गरि पारदर्शी रुपमा कार्यान्वयन गर्नुपर्ने, खानेपानीका मुहानहरुको संरक्षण, पहुँचमार्ग विस्तारका कारण भएको जोखिम न्युनीकरण, आयोजनाका कारण क्षत्तीपुगेका पदमार्ग, सार्वजनीकधारा, कुवा, पोखरीको संरक्षण गर्नुपर्ने माग रहेको घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

“आयोजनाले सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनीक र विगतका प्रतिवद्धता कार्यान्वयनमा बेवास्ता गरेपछि समुदायमा असन्तुष्टि बढेको छ” वडा अध्यक्ष बरुवालले भन्नुभयो “घारबासीबाट आयोजनालाई अहिलेसम्म अवरोध भएको छैन । तर आयोजनाले गर्नुपर्ने काम समयमै गराउन निरन्तर ताकेता गरिरहेका छौ ।”जलविद्युत आयोजनाहरुले कुललागतको ०.७५ प्रतिशत बजेट सामाजिक सहयोग कार्यक्रम अन्तरगत समुदायमा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने नितीगत ब्यवस्था छ । पाउद्धारका बासिन्दाहरुले पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा मोटरेबल पुलनिर्माण गर्नुपर्ने आयोजनासंग प्रस्ताव राख्दै आएका छन् ।

पाउद्धारका अगुवा भिम तिलीजाले आयोजनाले विगतमा पुलनिर्माण गरिदिने प्रतिवद्धता जनाएको बताउनुभयो । “आयोजनाले पहिले प्रतिवद्धता जनाए पनि अहिले ठाउँ परिवर्तन भएको र बजेटले पुग्दैन भने सरकारी निकायबाट पाउद्धार जोड्ने बाटोमा पर्ने घारखोलामा मोटरेबल पुलनिर्माण गर्नुपर्ने हाम्रो माग छ” तिलीजाले भन्नुभयो । आयोजनाले सामाजिक र वातावरणीय क्षेत्रमा बजेट बिनियोजन गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने प्रभावीत क्षेत्रका बासिन्दाको भनाई छ ।
वि.स २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमा क्षेत्रमा पर्ने कुरीला बगरदेखि २५० मिटर लामो सुरुङ खनेको छ । घारको बिरौटा देखि बाँध स्थलसम्म पुहँचमार्ग निर्माण गरिसकेको आयोजनाले सुरक्षाकर्मी, कर्मचारी र मजदुर आवास स्थलका लागि पूर्वाधार तयार गरेको छ ।

तिन किलोमिटर सुरुङ रहने आयोजनाको विद्युतगृह अन्नपूर्ण गाउँपालिका ६ स्थित पोखरेबगर र रातोपानीको बिचमा प्रस्ताव गरिएको छ । पानी बाहावमा आधारीत आयोजनाको २१७ मिटर लामो हेडरेस पाईप राखिने भएको छ । सुरुङ्ग मार्फत अमिलाकाफलमा पु¥याइने पानी एक हजार २५० मिटर लामो पाईप मार्फत पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
दुई अरब ४१ करोड ५८ लाख २५ हजार रुपैया कुल लागत अनुमान गरिएको आयोजनाको क्षमत्ता ८.३ मेगावाटबाट बढाएर १४ मेगावाट पु¥याएको छ । क्षमत्ता वृद्धी भएपछि पूरक वातावणीय प्रभाव मूल्याङकन मस्यौदाका विषयमा शनिबार घारमा सार्वजनीक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । ग्रिनग्लोब ईन्टरनेशनलका सुरेन्द्रदेव भट्टले पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आयोजनाका प्रबन्ध निर्देशक अर्जुन पौडेलले सामाजिक सहयोग कार्यक्रममा पछिल्लो पटक भएको निती गत ब्यवस्था अनुसार एक करोड ८० लाख रुपैया उपलब्ध गराइने बताउनुभयो ।“संस्थापकको रुपमा लगानीका लागि प्रभावीत क्षेत्रका बासिन्दालाई पहिले देखिनै समेट्न खोजेका थियौ, आयोजना निर्माणको अन्तिम चरणमा पुगेपछि प्रभावीत बासिन्दालाई सेयर लगानीका लागि आव्हान गर्नुपर्ने नितीगत ब्यवस्थानै छ ।”क्षमत्ता, योग्यता र सिपअनुसार आयोजनालाई आवश्यक पर्ने जनशक्तिका रुपमा स्थानीयलाईनै अवसर दिइएको आयोजनाका प्रमुखबिनोद देवकोटाले बताउनुभयो । “निती, नियम र आयोजनाको क्षमत्ताले भ्याउने कामगर्न तयार छौ” देवकोटाले भन्नुभयो “असम्भव, सरकारको निती र कम्पनीको बिधान बाहीर गएर हामीले पनी केहीगर्न सक्दैनौ ।”

आयोजना निर्माणमा अवरोध गर्दा लागत बढ्ने र त्यसको असर पछि समुदायले पाउने प्रतिफलमा पर्नेतर्फ सचेत रहन प्रर्वद्धकहरुको आग्रह छ । वि.स २०७७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा एनएमबी बैङ्कको अगुवाईमा एनआईसी एसिया र कैलाश बिकास बैङ्कले एक अर्ब ६९ करोड रुपैया लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनामा संस्थापक र प्रभावीत क्षेत्रका बासिन्दाको तिस प्रतिशत सेयर लगानी रहने जनाइएको छ । बुटबलको नागरिक उर्जा लिमीटेडले तिनहजार भन्दा बढी सर्वसाधारणबाट सेयर संकलन गरेर आयोजनामा लगानी गरेको कम्पनीका अध्यक्ष होमबहादुर गलामीले बताउनुभयो । आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा समेत वितरण गरिने जनाएको छ ।


सरोकारवालाहरुबीच समन्वय र छलफलको कमीका कारण समुदाय स्तरमा घारखोला जलविद्युत आयोजनाको विषयमा नितीगत ब्यवस्थित विपरीत समुदाय स्तरमा भ्रम फैलाउँदा आयोजनाको कामनै ठप्प हुने अवस्था आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “प्रभावीत क्षेत्रका बासिन्दा र आयोजना प्रर्वद्धकहरुबीच छलफल गरी निर्माणमा भएको अवरोध हटाएर काम अघि बढाउन पहलजारी राखेका छौ” अध्यक्षपुनले भन्नुभयो “समन्वय नहुँदा शंकाले लंका जलाएको जस्तो भएको रहेछ ।”
शिख घर भई काठमाडौमा बस्दै आएका बिनोद भट्टचनको नाममा शिख र घारका घरघरमा टासीएको र वितरण गरिएका पर्चाका कारण कतिपय स्थानीयबासी भ्रममा परेका छन् । सार्वजनीक सुनुवाई कार्यक्रममा भट्टचनले वितरण गरेको पर्चामा उल्लेखीत विद्युत विकास बिभागमा दर्तानै नभएको माथिल्लो घारखोला जलविद्युत आयोजनाको प्रस्तावीत विद्युतगृह निर्माण स्थलमा घारखोलाले बाँध बनाउन लागेको, जिल्ला बाहिरका बासिन्दाले आयोजना दल बनाएर लुट मच्चाउन खोजेको, हेपाहा नितीलाई टेकेर जनतालाई पेलेको, स्थानीय जनप्रतिनिधी र नेताहरुले खोला बेचेको लगायतका बारेमा भ्रमको बारेमा सरोकारवालाहरुले खण्डन गरेका थिए भने उनले बचाउ गरेका थिए ।


विद्युत विकास बिभागका प्रतिनिधि सम्भु चौधरीले उपल्लो घारखोला जलविद्युत आयोजना दर्तानै नभएको बताउँदै घारखोला जलविद्युत आयोजनाको पुरुक प्रतिवेदनमा स्थानीयबासीको सुझावलाई समेटेपछि मात्र उर्जा मन्त्रालयले पारित गर्ने स्पष्ट पार्नुभयो । केही व्यक्तिहरुले आफ्नो स्वार्थ पुर्तीका लागि जनतालाई उचालेर गाउँमा भित्रीएको आयोजनालाई अवरोध गरेको घारका यामबहादुर खड्काले बताउनुभयो ।
यसअघि घारका बासिन्दालाई आन्दोलीत बनाउने प्रयास सफल नभएपछि भ्रमको खेती गरेर स्वार्थ पुर्ती गर्ने समूह स्थानीयक ाअधिकारको नाममा शिखमा सक्रिय भएकाले सचेत हुनुपर्ने घारखोला जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष जसबहादुर तिलीजाले बताउनुभयो । आयोजनाले आफूले जनाएको प्रतिवद्धता अनुसारको काम नगरेको र सरोकार समितिसंग समेत समन्वय नगरेकाले समुदाय स्तरमा शंका उत्पन्न भएको तिलीजाको भनाई छ ।


सार्वजनीक सुनुवाई कार्यक्रममा निर्माणमा भएको अवरोध हटाउने विषयमा प्रभावीत बासिन्दा, आयोजनाका प्रतिनिधि र जनप्रतिनिधिहरु बीच भएको छलफलमा यस अघि सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनीक गर्न नमानेका प्रर्वद्धकहरुले बजेट सार्वजनीक गर्दै समुदायको माग र आवश्यकताको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन् । प्रभावीत वडाका बासिन्दाहरुबीच योजना तय गरेर बजेट परिचालन गर्नुपर्ने र आयोजना निर्माणका लागि सहज बातावरण बनाउनुपर्ने घारका राजाराम बरुवालले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द ्रबहादुर थापा, गण्डकी प्रदेशका सांसद बिनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेकपाका नेता खड्ग गिरी, नेपाली काँग्रेसका भरत रकालले प्रभावीत बासिन्दाको सम्भव हुने र जायज माग पुरा गरेर अघि बढ्न आयोजनालाई सुझाव दिनुभयो । उहाँहरुले पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा मोटरेबल पुलनिर्माणका लागि सरकारी निकायबाट पहल गरिएको जानकारी गराउदै छलफलबाट समस्या समाधानगर्न र दिर्घकालीन महत्वको जलविद्युत आयोजनामा अवरोध नगर्न प्रभावीत क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभयो ।

उहाँहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत पोखरेबगर चित्रे सडक स्तारोन्नती योजना कार्यान्वयनमा सघाउन समेत शिख घारका बासिन्दालाई आग्रहगर्नुभयो । जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानी भित्र्याउन सकेमा मात्र विकास सम्भव भएको बताउँदै क्षणीक स्वार्थ भन्दा दिर्घकालीन लाभ हुने विषयमा संवेदनशिल बन्न स्थानीय बासीहरुलाई आग्रह गर्नुभयो ।

सन्तोष गौतम