बाढीपहिरो पिडितलाई राहत वितरण

  • ५ आश्विन २०७५, शुक्रबार
  • 2662 पटक पढिएको

बेनी ५ असोज । नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलका बासिन्दालाई जिल्ला विपद् ब्यवस्थापन समितिले शुक्रबार राहत वितरण गरेको छ ।
पहिरोले विद्युतको पोल ढलाएपछि लत्रिएको तारले करेन्ट लागेर ज्यान गुमाएकी दुवाडीकी मनमाया छन्त्यालका आफन्तलाई एक लाख रुपैया उपलब्ध गराइएको छ । रघुगंगा नदीमा आएको बाढीले कटान गरेर घर बगाएका खरिबोटका चन्द्रबहादुर छन्त्याललाई पचास हजार र आंशिक क्षति भएका यामबहादुर छन्त्याललाई बिस हजार रुपैया उपलब्ध गराएको हो ।

विस्थापित र आंशिक क्षति पुगेका बाढी पहिरो पिडित आठ घरपरिवारलाई गण्डकी प्रदेशका सांसद बिनोद केसीले व्यक्तिगत रुपमा दुई हजार रुपैयाका दरले राहत वितरण गर्नुभएको छ । सांसद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, वडा अध्यक्ष गमान छन्त्याल, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापा, प्राबिधिक राजकुमार शाहीको टोलीले राहत वितरण गरेको हो ।

सो टोलीले बाढी, कटान र पहिरो प्रभावीत क्षेत्रको स्थलगत अनुगमन गरि क्षति र थप जोखिमको अवस्थाको बारेमा जानकारी लिएको छ । सांसद केसीले बाढी पहिरोका कारण सो क्षेत्रको जनजिवन कष्टकर बनेको बताए । भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले दुलेखर्क स्थित रितुङ माविको तिन वटा भवनको सात वटा कक्षा कोठा र चार कोठे शौचालय बगाएको थियो ।
पहिरोले विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले रितुङ माविको पठनपाठन ठप्प बनेको छ । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा १७५ जना विद्यार्थी अध्ययनरत छन् । समुदायलाई अस्थाई पूर्वाधार तयार पारेर पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको टोलीले जग्गा खोजेर नयाँ भवन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
नदीले बस्तीतर्फ कटान गर्न थालेपछि रघुगंगाको किनारमा अवस्थित घ्यासीखर्कका १६ घर जोखिममा परेको छ । जमिन धाजा फाटेपछि बिस घरधुरीको बसोबास रहेको चौरखानीको बस्ती समेत पहिरोको जोखिममा रहेको जिसस प्रमुख केसीले बताउनुभयो । साहरा युवा क्लवको भवन र खेलमैदान बाढीले पुरीएको छ ।

दुलेखर्क र घ्याँसीखर्कको सिमानामा रघुगंगा नदीमाथि रहेको झोलुङगे पुल उच्च जोखिममा परेको छ । स्वास्थ्य चौकी भवन निर्माण स्थलमा बाढी परेर क्षती पु¥याएको छ । छहरीका दुई घर जोखिममा परेका छन । छहरी स्थित शिव मन्दिर बाढीले बगाएको थियो । पहिरोले पोल बगाउँदा ३५ घरधुरीको बसोबास रहेको दुवाडीमा विद्युत आपुर्ती बन्द भएको छ ।
झिङखानी महिला बचत तथा ऋण सहकारी संस्थाको भवन पहिरोले पुरीएको छ । बाढी पहिरोले तिन करोड रुपैया बराबरको भौतिक सम्पत्तिको क्षति पुगेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो। गाउँपालिका, प्रदेश र संघीय सरकारका निकायमा तत्कालका लागि जोखिमयुक्त स्थानको क्षती न्युनीकरण र दिर्घकालीन योजनाको पहल गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।