भगवतीमा माछापुच्छ्रेको शाखा रहित बैङ्कीङ सेवा सुरु

  • ५ आश्विन २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2789 पटक पढिएको

    

भगवती ५ असोज । माछापुच्छ्रे बैङ्कले म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको अधेरीखोलामा शुक्रबार ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखारहित बैङ्कीङ सेवा सुरु गरेको छ ।  भगवती, बेगखोला र पिप्लेका बासिन्दालाई गाउँमै बैङ्कीङ सेवा उपलब्ध गराउने उद्देश्यले २९ औ सेवा केन्द्र स्थापना गरिएको बैंकको बेनीशाखाका प्रबन्धक श्रिधर ढुङ्गानाले बताए । सेवा केन्द्रबाट निक्षेप संकलन, खाताको रकम भुक्तानी, रेमिटेन्स र कर्जाका लागि सिफारीस सम्बन्धि सेवा दिइने बैंकले जनाएको छ ।

अत्याधुनिक प्रबिधी जडित ट्याव उपकरणको सहायताले बैंकीङ्क सेवा दिन बैंकले स्थानीय ब्यवसायी दिपक खत्रीलाई प्रतिनिधी चयन गरेको छ । दैनिक दुई लाख रुपैया सम्म बचत र एक लाख रुपैया भुक्तानी गर्न सकिने प्रतिनिधी खत्रीले बताए ।सेवा केन्द्रबाट बैदेशिक रोजगारीमा गएकाको आफन्त, शिक्षक, कर्मचारी र ब्यवसायीहरु लाभान्वित भएका छन् । रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजाले सेवा केन्द्रको उद्घाटन गर्दै ग्रामिण क्षेत्रमा बैङ्कीङ सेवाको पहुँच विस्तारसंगै बचत गर्ने बानीको विकास गराउनुपर्नेमा जोड दिएकी थिईन ।

वडा अध्यक्ष रिमबहादुर कटुवालले सेवा केन्द्र स्थापना भएपछि बैंकीङ सेवाका लागि एक दिनको समय र तिनहजार रुपैया भन्दा बढी खर्च गरेर सदरमुकाम पुग्नुपर्ने स्थानीयबासीको समस्या हट्ने विश्वास ब्यक्त गरेका थिए ।बैंककाशाखा रहित बैङ्कीङ सेवाका प्रमुख विकास श्रेष्ठले दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर ग्राहक सेवा केन्द्र सञ्चालन गरिएको बताए । सेवा केन्द्र उद्घाटनका अवसरमा बैंकले स्थानीय सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई एक वर्षका लागि पुग्ने पोशाक, झोला र शैक्षिक सामाग्री वितरण गरेको थियो ।

बैंकका कर्मचारी रामबाबु बरालको सञ्चालन र युवराज पन्थीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयका प्रअ तोरणबहादुर श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए ।आठ अरब रुपैया चुक्ता पुजी रहेको बैंकले गत आर्थिक वर्षमा ७५ अरब रुपैया निक्षेप संकलन र ६५ अर्ब रुपैया कर्जा लगानी गरेको थियो । यसअघि मुस्ताङको लोमान्थाङ सहित २८ स्थानमा ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखा रहित बैङ्कीङ सेवा प्रवाह गरिरहेको छ । बेनी सहित देशका ८६ वटा शाखा, दुई वटा एक्टेन्सन काउन्टर र ९९ वटा एटीएम काउन्टर रहेका छन् ।

 

सन्तोष गौतम