बगरफाटँमा प्रशारण लाइनबाट दुर्घटनाको जोखिम

  • ५ आश्विन २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 1645 पटक पढिएको

बेनी ५ असोज । बस्तिको बिच र घरको छतमाथि रहेको प्रशारण लाइनका कारण पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँटमा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ ।बेनी देखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा ३२ केभी क्षमत्ताको केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्तीका लागि बस्तीको बिचबाट तानिएको लाईनका कारण जोखिम बढेको हो । घरको छतमा मानिस उभिदा समेत विद्युतको लाईन छोईने अवस्था छ । बस्तीको बिचभागबाट प्रशारण लाईनको तार तानिएको छ ।


प्रशारण लाईन निर्माण भएपछि पनी सम्बन्धित निकायको अनुगमन र नियमन नहुँदा घरहरु निर्माण हुने क्रम भने रोखिएको छैन् । प्रशारण लाईनको करेन्ट लाग्ने भएकाले कारण घरको छतमा कपडा सुकाउन जान समेत जोखिम मोल्नु परेको स्थानीयबासी सुरेश विश्वकर्माले बताउनुभयो ।

केरेन्ट लागेर तिन जना घाइते भएका छन् । विद्युत प्रशारण लाईन तिब्र रुपमा बजारीकरण भइरहेको बगरफाँटका लागि धराप बनेको स्थानीयबासी हिराबहादुर बरुवालले बताउनुभयो । बगरफाँट क्षेत्रमा करिब दुई किलोमिटर प्रशारण लाईन रहेको छ । १२० घरधुरी प्रशारण लाईनको जोखिममा रहेका बगरफाँट हाईटेन्सन लाईन ब्यवस्थापन उपसमिति उपसमितिका संयोजक टिका माईलीपारले बताउनुभयो ।

प्रशारण लाईन ब्यवस्थापनका लागि वडा र गाउँपालिका मार्फत उर्जा मन्त्रालयमा पहल गरिएको वडा न. २ का अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो । उहाँका अनुसार प्रशारण लाईन ब्यवस्थापनका लागि तिस लाख रुपैया लागत अनुमान गरिएको डिपीआर तयार पारिएको छ ।

बस्तीलाई जोखिम नहुने गरी प्रशारण लाईन ब्यवस्थापन गर्न पहल गरिएको छ । बस्ती देखि तल कालिगण्डकीको किनारकै किनार तथा माथिल्लो क्षेत्रको पहाडको फेदी भएर प्रशारण लाईन ब्यवस्थापन गर्न लागिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

प्रशारण लाईन ब्यवस्थापनका लागि प्रभावित क्षेत्रका बासिन्दाहरुले सरकारी निकायबाट सञ्चालन हुने योजनाको जनसहभागीताका लागि प्रतिघर १५ हजार रुपैयाका दरले संकलन गर्न थालेका छन् । हालसम्म चार लाख ६० हजार रुपैया संकलन भइसकेको छ ।

उर्जा मन्त्रालयले योजना स्वीकृत गरिसकेको गाउँपालिकाले जनाएको छ । यसैबीच बगरफाँटमा प्रशारण लाइन ब्यवस्थापन योजनालाई कसरी अघि बढाउने भन्ने विषयमा बुधबार स्थानीयबासी, ब्यवस्थापन उपसमिति र जनप्रतिनिधीहरुबीच छलफल भएको थियो । छलफलमा सहभागीहरुले पारदर्शी र प्रभावकारी रुपमा योजनालाई छिटो कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

सन्तोष गौतम