सुरु भयो रघुगंगाको काम

  • २ आश्विन २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 2408 पटक पढिएको

रघुगंगा २ असोज । ४० मेगावाट क्षमत्ताको रघुगंगा जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि छ अर्ब रुपैयामा २०७४ मंसिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एसोसियट्सले प्रारम्भिक चरणको काम सुरु गरेको हो ।

ठेकेदार कम्पनीले नक्साङकन (डिजाईन)को काम सकेर बाँध, सुरुङ सम्म पुग्ने सडक निर्माण र ब्यवस्थापकीय काम सुरु गरेको रघुगंगा हाईड्रो पावर लि.का प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युतगृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको ठेकेदारले पुर्वतयारीको कामलाई तिब्रता दिएको छ । “ठेकेदारलाई असार १० गते नोटीस टु प्रोग्रेस पत्र दिएका थियौ” पाण्डेले भन्नुभयो “डिजाईन र साढे सात किलोमिटर पहुँचमार्गको ट्याक खोल्ने काम सकिएको छ । बर्खा लगत्तै फुल फेजमा कामलाई तिब्रता दिने तयारीमा छौ ।”

मौवाफाँटबाट बाँधस्थल जाने बाटोमा पर्ने बुक्लसम्म सडकको ट्याक खोलेको छ । बुक्लदेखि अडित २ जाने ६०० मिटर सडक निर्माण सकेको छ । प्रवेश बिन्दु घुमाउनेताल देखि पिप्लेतर्फ ६०० मिटर सडकको ट्याक खुलेको छ । आवासगृह भवन निर्माण र विद्युतगृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ । ठेक्का सम्झौताको स्वीकृतीका लागि ऋण लगानीकर्ता भारतीय एक्जीम बैङ्कले छ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाई भएको हो । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ । ईलेक्ट्रीमेकानीक ठेक्का प्रक्रिया यसै महिना सक्ने तयारी छ ।

भारतीय एक्जीम बैङ्कको ४४ मिलीयन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणा अनुसार निर्माण हुन लागेको हो । इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण हुन लागेको जनाईको छ । आयोजनामा यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेड कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टीएपछि चार वर्षमा दश प्रतिशत पनी काम नगरी अधकल्चो बनाएको थियो ।

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरीयोस भन्ने सरोकारवालाको अपेक्षा छ । म्याग्दीको जलविद्युत विकासको मेरुदण्ड मानिएको रघुगंगालाई सहज रुपमा समयमै सम्पन्न गराउनुपर्ने प्रदेशसभा सदस्य बिनोद केसीले बताउनुभयो । “रघुगंगालाई सफल बनाउन सक्यौ भने निजी क्षेत्रका अन्य आयोजना भित्र्याउन सजिलो हुन्छ” केसीले भन्नुभयो “सामाजिक र स्थानीय स्तरमा सहज बातावरण बनाउन सुरक्षा निकाय, जनप्रतिनिधि, प्रशासन तयार छौ । आयोजना र ठकेदारले समयमै काम गर्नुप¥यो ।”

यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो । पहिलेको कार्य तालिका र सम्झौता अनुसार आयोजना वि.स २०७० सालमा सकिनुपर्ने थियो । नदीको बहावमा आधारित रघुगंगा जलविद्युत आयोजनाले पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघिनै २८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

झिँ र दग्नामको सिमामा बाँध रहेको आयोजनाको विद्युतगृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । रघुगंगा लगायतका निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रिय प्रशारण लाईनमा जोड्नका लागि विद्युत प्राधिकरणले खुर्कोट दाना प्रशारण लाईनका साथै राहुघाट र दानामा सब स्टेशन निर्माण गरिरहेको छ ।

सन्तोष गौतम