मुस्ताङको कोवाङमा फालो पर्व सुरु

  • ३० भाद्र २०७५, शनिबार
  • निरज थकाली
  • 2355 पटक पढिएको

कोवाङ (मुस्ताङ¬) ३० भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) शनिबारदेखि सुरु भएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो पर्वको शुक्रबार उद्घाटन गर्दै थासाङ गाउँपालीकाका अध्यक्ष वुद्धीप्रसाद शेरचनले परम्परा, संस्कार, कला र संस्कृतीको संरक्षणमा सम्बन्धित समुदाय अग्रसर बन्नुपर्ने बताउनुभयो ।

गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका ५ देखि १३ वर्ष मुनीका छेवार गरिसकेका कुमारहरुलाई कुमार यात्रामा सहभागी गराउने चलन रहेको थकाली सेवा समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले बताउनुभयो । उहाँका अनुसार चारचनमा जन्मिएका छोराहरु कुमारयात्रा (स्योपेन)मा सहभागी भएपछि भगवान नरिच्हेबको आर्शीवादले जिवनका लागि सक्षम र योग्य भएको सांस्कृतीक मान्यता पाउँछन् ।


परापुर्व कालमा जंगलमा शिकार खेल्न गएका थकाली समुदायका युवाहरुले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेअनुसार सो स्थानमा गुम्बा बनाई राखे पश्चात गाउँमा अनिष्ट नहोस भनेर पुजाआजा गर्ने र थकाली पुरुषहरुले चुडा कर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागि हुने चलनको सुरुवात भएको मिर (प्रमुख) मुखीया भिमप्रसाद गौचनले बताउनुभयो ।

स्योपेनमा सहभागी कुमारहरुले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पुजाआजा गर्ने, आफन्तजनबाट आर्शिवाद लिने, देवताहरुको पुजाआजा गर्ने र थकाली भाषामा गित गाउँदै बाजागाजा सहित गाउँ परिक्रमा गरेर लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन छ । कुमार यात्रामा सहभागी हुन देश, बिदेशबाट थकाली कुमारहरु कोवाङमा आएका छन् । कुमारहरु थकाली भाषाको गित गाएर थकाली पहिरनमा सजिएर नाचगानका साथै लामाहरुले कोतघरमा पुजाआजा गर्छन् ।

फालो पर्व सञ्चालन गर्नका लागि थकाली सेवा समितिले २५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ । कोषबाट यस वर्ष पर्वमा बाजा बजाउने कलाकारहरुलाई तिस हजार बराबरको पोसाक सहयोग गरेको छ । परम्परागत सांस्कृतीलाई निरन्तरता दिनका लागि अक्षयकोषको ब्याजबाट फालो पर्व सञ्चालनका लागि सहयोग गर्ने व्यवस्था मिलाइएको अध्यक्ष शेरचनले बताउनुभयो । गिरीसीङ शेरचनको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचन, वडा अध्यक्ष नरप्रसाद हिराचन लगायतको उपस्थिती रहेको थियो ।

निरज थकाली