बेनीमा दुई सय बर्ष पुरानो ‘बर्खे नाच’को रौनकता (भिडियो सहित)

  • २४ भाद्र २०७५, आईतवार
  • कमल खत्री
  • 2436 पटक पढिएको

बेनी, २४ भदौ म्याग्दीः कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारमा यतिबेला बर्खे नाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखी नै बर्खेनाच सुरु भएको मानिन्छ । खासगरि बेनीमा बसोबास गर्ने नेवार समुदायको अगुवाईमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाईने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।

वर्षायाम सकिन लाग्दा यहाँका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । नेपाल भाषा मंका ः खल ः को मुल आयोजनामा यहाँ बर्खे नाच देखाईने गरेपनि यो नाचले अन्य समुदायमा समेत रौनकता ल्याउने गरेको छ । सुचना प्रविधिको विकासले मौलीक र रैथाने संस्कृतिहरु लोप हुँदै गैरहेको सन्दर्भमा यहाँ बर्खेनाचमा देखिने उत्साह र सहभागीताले भने संस्कृति संरक्षणमा नयाँ पुस्ताको आबश्यकता दर्शाउने गर्छ ।

केही दशक अघिसम्म बेनीमा देखाईने बर्खे नाच यस क्षेत्रको आसपासमा रहेका ग्रामीण बस्तीहरुका बासिन्दाहरुको लागि समेत मनोरञ्जनको माध्ययम बन्ने गरेको थियो । प्रविधिको विकाससंगै केही ओझेलामा पर्न थालेको यो नाचलाई संरक्षण गर्न पुनः यहाँका अगुवाहरु जागरुक बनेका छन् । एक महिनासम्म बर्खेनाच अन्र्तगत विभिन्न नाचहरु देखाउन समय र कलाकार व्यवस्थापनमा चुनौती रहेपनि त्यसलाई सबैको साथ र सहयोगबाट सम्भव तुल्याउँदै आएको नेपाल भाषाः मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।

‘‘ यो नाच बेनीको ईतिहाँससंग जोडिएको छ, मौलिक परम्परालाई जीवित राख्नको लागी निरन्तरता आबश्यक छ, त्यसको लागि युवा पुस्ताले लिएको अग्रसरता प्रसंसनीय छ’’–अध्यक्ष श्रेष्ठले भन्नुभयो । बर्खे नाच यहाँका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेपनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणको लागि अन्य समुदायको समेत सहभागीता हुन थालेको हो । यसै साता बर्खेनाच अन्र्तगत प्रदर्शन गरिएको रोपाइँ नाचमा यहाँ बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने गरि देखाईएको थियो ।

बर्खेनाचमा देखाईने नाचहरुलाई समावेशी बनाउन थालिएसंगै यसप्रति रुचि र रौनक थप बढेको स्थानीयबासी बताउँछन् । समावेशी रोपाई नृत्यले म्याग्देली कला र संस्कृती संरक्षणमा सबै समुदाय एकतावद्ध भएको सन्देश प्रवाह गराएको रोपाई नाचको गायनमा सहभागी भएका लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो । करिब १ सय जना कलाकारहरु सहभागी भएको रोपाई नाचमा नेवार समुदाय संगै, मगर, छन्त्याल, बा्रहमण, क्षेत्री, थकाली, दलीत लगायतका जातजातिहरुको सहभागीता गराईएको थियो । परम्परागत समाजमा मुखीयाको घरमा खेत रोपाई गर्न जाँदा रोपारले धान रोपेको र बाँउसेले कोदालो खन्दै गरेको दृष्यलाई रोपाई नाचमा देखाउने गरिन्छ । असारे गीत गाउँदै बजारमा धान रोपाईको झल्को दिने गरि नाच प्रदर्शन गरिएको थियो । वि.स २०७२ पछि यसपाली रोपाई नाच देखाइएको हो ।

रोपाई नाचमा कलाकारहरु धेरै लाग्ने र व्यवस्थापन र खर्च जुटाउन कठिन हुने भएकाले यस्ता नाचहरुलाई हरेक बर्ष देखाउन नसकिएको नेपाल भोषा मंका ः खल ः अन्र्तगतको युवाहरुको समुह ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । ‘बर्खेनाच बेनीको बस्ती बसेदेखिकै ईतिहाँस हो, यसलाई यहाँका सबै समुदायको साझा संस्कृतिको रुपमा संरक्षण गर्नु अहिलेको आबश्यकता छ, मौलीक संस्कृतिलाई संरक्षण गर्न सके यसले यहाँको पर्यटन प्रवद्र्धनमा समेत सघाउन सक्छ,’’– उहाँले भन्नुभयो । बर्खेनाचमा रोपाई नाच संगै लाखे, घोडा, नागानागीनी, गोरु ,जोगी लगायतका नाच देखाईसकिएको छ । बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । हरेक नाचको फरक फरक महत्व छ । सबै जसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

खास गरि लाखे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । नागानागीनी नाच भने जनैपुर्णिमा पर्वदेखि २ दिन बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा देखाउने चलन छ । बर्खेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ ।

बर्खेनाचका गीत, नृत्य र अभिनयबाट ब्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । यसमा समेटीने प्रायः नाच गाईजात्राकै भिन्न स्वरुप जस्ता देखिन्छन् । प्रचलनमा रहेका मौलिक नाच र सयौँ वर्ष अघिको संस्कृतिको जगेर्ना गर्नतर्फ बर्खेनाच देखाउने प्रचलनले सहयोग पु¥याएको छ । पुरानो पुस्ताले छोडेर गएको सांस्कृतिक पर्व, प्रचलन र संस्कृति संरक्षण गर्नु नयाँ पुस्ताको दायित्व हो । त्यसैले मौलीक संस्कृतिको संरक्षणमा सबैले चासो दिनुपर्ने आबश्यक छ ।

म्याग्दी उद्योग बाणिज्य संघको अगुवाईमा यस बर्षलाई म्याग्दी भम्रण बर्षको रुपमा मनाईरहेको सन्दर्भमा यहाँका यस्ता मौलिक र प्राचिन संस्कृति झल्कने संस्कृतिहरुलाई समेत प्रचार प्रसार गर्न सके यसले यहाँको पर्यटन विकासमा सघाउने अपेक्षा गरिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l