तातोपानी कुण्डको आम्दानी दोब्बरले बढ्यो

  • २४ भाद्र २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2431 पटक पढिएको

म्याग्दी २२ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित पर्यटकीय स्थल भुरुङ्ग तातोपानी कुण्डको आम्दानी दोब्बरले वृद्धी भएको छ । स्थानीय तहले प्रतिस्पर्धा मार्फत कुण्ड सञ्चालन गर्न थालेपछि आम्दानी बढेको हो । कुण्डबाट गत आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकालाई २५ लाख १७ हजार रुपैया आम्दानी भएको थियो । चालु आर्थिक वर्ष २०७५÷७६ का लागि कुण्डमा प्रवेश शूल्क संकलन र क्यान्टिन सञ्चालनका लागि ३५ लाख रुपैया न्युनतम मूल्यमा ठेक्का प्रस्ताव आव्हान गरिएको थियो ।

सबैभन्दा बढी एक वर्षका ५३ लाख रुपैया कबोल गरेका लट्टे गिरीसंग एक वर्षका लागि कुण्ड सञ्चालनको सम्झौता भएको गाउँ कार्यपालिकाको आर्थिक समितिका संयोजक आत्मा तुलाचनले बताउनुभयो । उहाँका अनुसार कुण्डमा आउने पर्यटकको चाप र प्रतिस्पर्धा गराउन थालीएपछि आम्दानी बढेको हो । वि.स २०७३ मा तत्कालीन गाविसको स्वामित्वमा ल्याइएको कुण्ड स्थानीय तह कार्यान्वयनपछि गाउँपालिकाले सञ्चालन गर्दै आएको छ । यसअघि स्थानीयबासी र ब्यवसायीहरुले आलोपालो गरेर कुण्ड सञ्चालन गर्दै आएका थिए । आर्थिक वर्ष २०७२७३ मा १६ लाख २२ हजार रुपैयामा वार्षिक ठेक्का लागेको कुण्ड सञ्चालनका लागि २०७३÷७४ मा तीस लाख रुपैयामा सम्झौता भएको थियो ।

चालु आर्थिक वर्षमा प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि बिदेशीलाई प्रतिव्यक्ति १५० रुपैया र नेपालीलाई प्रतिव्यक्ति ५० रुपैया प्रवेश शूल्क तोकीएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बेनी–जोमसोम सडक अन्तरगत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउ र धारामा स्नान गर्न वार्षिक १५ हजार जना बिदेशी र पचास हजार जना आन्तरीक पर्यटक आउने गर्छन् ।

यसैगरी अन्नपूर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल पुनहिलको आम्दानीलाई पनि चालु आर्थिक वर्षदेखि गाउँपालिकाको स्वामीत्वमा ल्याउन प्रक्रिया अघि बढाइएको छ । पुनहिलमा प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि न्युनतम २०÷२० लाख रुपैया मूल्य कायम गरि ठेक्का प्रस्ताव आव्हान गरिएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।
अधिकतम कबोल गर्नेसंग सम्झौता गरि प्रवेश शूल्क संकलन र चिया पसल सञ्चालनको अनुमती दिइने उहाँले बताउनुभयो । पुनहिल प्रवेशका लागि नेपालीलाई प्रतिव्यक्ति ५० र बिदेशीलाई प्रतिव्यक्ति १५० रुपैया शूल्क तोकीएको छ ।

पर्यटकीय स्थलबाट भएको आम्दानी तिस प्रतिशत गाउँपालिका र सत्तरी प्रतिशत वडाले तय गरेका प्रभावीत क्षेत्रका योजना तथा कार्यक्रममा लगानी गरिने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा अवस्थित पुनहिलमा सुर्योदय, हिमशृङखला, वनजंगल, पहाडी भुगोल, गुराँसे जंगल अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि वार्षिक पचास हजार जनाको हाराहारीमा स्वेदेशी तथा बिदेशी पर्यटक आउने गरेका बताइएको छ ।

सन्तोष गौतम