महिला कैदीबन्दी र बालबालिकालाई दर खुवाइयो

  • २३ भाद्र २०७५, शनिबार
  • 1565 पटक पढिएको

म्याग्दी, भदौ २३ – सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, म्याग्दीको आयोजनामा शनिबार म्याग्दी कारागारका महिला कैदीबन्दी र बालगृहका बालबालिकाहरुलाई दर खुवाइएको छ । हरितालिका तीजको अवसरमा नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई कपि कलम पनि वितरण गरिएको छ । म्याग्दी कारागारमा विभिन्न कसुरमा सजायँ भुक्तान गर्दै गरेका ४ जना महिला र बालगृहका १० जना बालबालिकाहरुलाई दर खुवाउनुका साथै स्टेशनरी सामग्री वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ ।

बालबालिकाहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी निरीक्षक लोकबहादुर गुरुङ, बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली र जिल्ला वन अधिकृत माधवप्रसाद देवले कपीकलम वितरण गरेका थिए ।  यसैगरी बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीका अध्यक्ष बिमला गौचन र सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष अमृतदेवी बानियाँ र वर्तमान पदाधिकारीहरुले बालबालिकाहरुलाई दर खुवाएका थिए । बालबालिकालाई कपि कलम वितरण गर्दै प्रजिअ अधिकारीले तीजको अवसरमा दर खुवाउनु तथा स्टेशनरी सामग्री वितरण गर्नु सराह्रनीय काम भएको बताउँदै बालबालिकाहरुलाई राम्रोसँग अध्ययन गर्न सुझाव दिएका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, म्याग्दीका अध्यक्ष विष्णु गुरुङले हिन्दु नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकै आइरहेको हुँदा तीजको सम्झनास्वरुप दर खुवाउने कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रम अध्यक्ष गुरुङको अध्यक्षता र सचिव लक्ष्मण कटुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।