पर्यटकीय सम्भावना बोकेको दुरलेक ओझेलमा

  • २२ भाद्र २०७५, शुक्रबार
  • कमल खत्री
  • 4289 पटक पढिएको

म्याग्दी, २२ भदौ । रुमको शिरमा रहेको अग्लो डाँडो । वरीपरि आँखाले फन्को मार्दा देखिने मनोरम हिमशृङ्खलाको दृष्यले त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ६ मिटर बढी उचाइमा रहेको पर्यटकीय स्थल ‘दुरलेक’ अथाह पर्यटकीय सम्भावना बोहेर पनि ओझेलमा परेको छ । मालिका गाउँपालिका–२ रुमको शिरमा रहेको दुरलेकले बागलुङको ताराखोला, रनसिङकिटेनी, पाण्डपखानी, बुङ्गादोवान र तमानको सिमा क्षेत्रलाई समेत समेटेको छ । अग्लो डाँडामा अवस्थित दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, चुरेन, लगायतका हिमशृङ्खलाहरु संगै म्याग्दी र बागलुङको दर्जनौँ गाउँबस्तीलाई अवलोकनको लागि उक्तम रहेको रुमका वडा अध्यक्ष नरबहादुर पुनले बताए ।

‘‘ भौगोलिक विकटता र प्रचार प्रसार नहुँदा दुरलेक ओझेलमा परेको हो, यस क्षेत्रमा पुगेपछि जो कसैलाई फर्कन मनै लाग्दैन्, पर्यटकीय दृष्टिकोणमा निकै सम्भावनायुक्त छ’’–वडा अध्यक्ष पुनले भने । दुरलेक पुग्नको लागि हिउँदको समयमा सडकमा सवारी साधनबाट रुम हूँदै घ्याङ्लेपानीसम्म पुग्न सकिने र त्यहाँबाट झण्डै ४ देखि ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । अहिले स्थानीयबासीहरु दुरलेकमा फागुन देखि जेठ महिनासम्म बढी जाने गर्छन् । पर्यटकीय दृष्टीकोणमा सम्भावनायुक्त दुरलेकको नजीकैसम्म सडक सञ्जालको पहुँच पु¥याउने, व्यवस्थित पदमार्ग निर्माण गर्ने र अवलोकनको लागि भ्युटावर निर्माण गर्ने योजना बनाइएको वडा अध्यक्ष पुनले जानकारी दिए ।

दुरलेकमा बागलुङ ताराखोलाका एक व्यक्तिले मन्दिर समेत निर्माण गरिदिएका छन् । चैत बैशाख महिनाको सिजनमा जंगलमा फुल्ने थरिथरिका लालीगुराँसले दुरलेकको यात्रा थप रमणीय बनाउने गरेको स्थानीय युवा तारा बहादुर रोकाले बताए । उनले दुरलेकमा पर्यटन पूर्वाधार निर्माण र यस क्षेत्रको प्रचार प्रसार गर्न सकेमा आन्तरिक संगै बाह्य पर्यटकहरुलाई समेत भित्र्याउन सकिने सम्भावना रहेको बताउँछन। दुरलेक वरपर रुमसंगै बागलुङका स्थानीयले समेत परम्परागत गोठ राख्ने चलन छ । यस लेकमा गोठ राख्ने किसानहरुको भनाई अनुसार, यस लेकको खर्कमा गोठ राख्दा बस्तुभाउहरुले बढी दुध दिने भएकाले यसको नाम दुधलेक हुँदै दुरलेक भएको हो ।

परम्परागत रुपमा बन जंगलमा हुने गरेको पशुपालन र गोठथरी पनि पर्यटकहरुको लागि आकर्षक बन्न सक्छ । अधिभारादेखि रुमसम्म पु¥याईएको सडकलाई समेत छिमेकी जिल्ला बागलुङको तमान र अर्कातर्फ रुम– खवाङ हुँदै ताराखोला जोड्ने गरि विस्तार गर्ने र आन्तरिक रुपमा पर्यटकहरुलाई भित्र्याउने योजना वडा कार्यालयको छ । बागलुङको ताराखोला, रनसिङकिटेनी र म्याग्दीको रुमका स्थानीय यसै दुरलेक हुँदै आवत जावत गर्ने भएकाले परम्परागत रुपमा गोरेटो बाटो यथावत रहेकाले सोही बाटोलाई स्तरीय बनाउने योजना रहेको वडा अध्यक्ष पुनले बताए ।

विहानीको सुर्योदय र साँझको सुर्यास्तको मनमोहक दृष्य देख्न सकिने दुरलेकमा पाँचऔले, सतुवा लगायतका बहुमुल्य जडीबुटी, मृग, कालीज, लगायतका जंगली जनावरहरुलाई समेत अवलोकन गर्न सकिने भएकाले पर्यापर्यटनको सम्भावना समेत बलीयो छ । यस क्षेत्रमा अहिले स्थानीयबासी पुजाआजा, पशुपालनको लागि गोठ राख्न र हिउँदको समयमा बनभोजको लागि जाने गर्छन् । अग्लो डाँडो भएकाले पुस माघ महिनामा हिउँ परिरहने हुँदा यस ठाउँमा जाने पर्यटकहरुको सुरक्षाको लागि आश्रमयस्थल, क्याम्पीङ साईट निर्माण, खानेपानीको सुविधा विस्तार गर्ने योजनाको लागि बजेट आबश्यक रहेको वडा अध्यक्ष पुनले बताए । दुरलेकमा जाने पर्यटकहरुको लागि रुम र घ्याङ्लेपानीमा होमस्टे समेत सञ्चालन गर्न सकिन्छ ।

गाउँपालिका कार्यालयले समेत पर्यटकीय क्षेत्र दुरलेकमा पूर्वाधार निर्माण गर्ने, प्रचार प्रसार गर्नको लागि पहल थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । म्याग्दी उद्योग बाणिज्य संघको अगुवाईमा म्याग्दी भ्रमण बर्ष मनाईरहँदा दुरलेकलाई पनि जिल्लाको नयाँ र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावनाहरु छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l