चिमखोला चिनाउने थाली नृत्यको लोकप्रियता (फोटो फिचर)

  • १८ भाद्र २०७५, सोमबार
  • सन्तोष गौतम/कमल खत्री
  • 3658 पटक पढिएको

म्याग्दी १८ भदौ ।

“यो देशको सबै कला संस्कृती सपारौ
यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौ
ए हो ओ…… ओझेलमा नपारौ”
कति राम्रो नेपालको थाली
झिलीमिली नचाउँछु यसपाली….”
म्याग्देली कलाकार लाली बुढाथोकी र मिना गर्बुजाको स्वर रहेको दिलकुमारी राम्जालीको “खुसी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गितमा जस्तै म्याग्दीको मौलीक थाली नाचले लोकप्रियता कमाउदै गएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाबाट चार दशक अघि सुरु भएको थाली नृत्यप्रती आकर्षण बढ्दै गएको छ । गितको लय र शब्दसंगै हातमा थाल राखेर गरिने थाली नृत्य नेपालमा मात्र सिमित नभई सात समुन्द्रिपारी प्रवाससम्म पुगेको छ ।

हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ । सावधानीपुर्वक गरिने थानीनृत्य मौलीक, आकर्षक र संयमित भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्य सम्बन्धि गित पनि रेकर्ड भएकाले यसको लोकप्रियता अझै बढेको छ । देशका बिभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलनमा मात्र नभएर बिदेशमा समेत थाली नाच देखाउने गरिएको कलाकार बिजया थापाले बताउनुभयो । “चिमखोलाको पहिचान थाली नाचको संरक्षणमा लागेका छौ” थापाले भन्नुभयो “चिमखोलाबासी पुगेको ठाउँमा थालीनाच पुगेको छ । अभिभावक र अग्रजबाट थाली नाचको कला सिकेका छौ ।”

वि.स २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । वि.स २०४४ सालमा काठमाडौमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाच राष्ट्रिय र अन्तराष्ट्रियकरण भएको हो । कलाकार थबिना तिलीजाले आमाबाट थाली नृत्य सिकेको बताउनुभयो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई थाली नामाकरण गरिएको हो ।

पुन र धनकुमारी थापा सहितको ४ जनाको टोलीले वि.स २०४२ मा बिरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामुहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हाँसील गरेका थिए । २०३५ सालमा शान्ति पुन र थापाले थाली नाच सम्बन्धि गित रेकर्ड गराउनु भएको थियो । उक्त गितको वि.स २०७३ मा म्युजीक भिडीया छायांकन गरिएको छ । थाली नाच चिमखोलाको मौलीक पहिचान भएको अग्रज लोक कलाकार थापाले बताउनुभयो । “२०४२ सालको नाच राम्रो मानेर २०४४ सालको सार्क सम्मेलनमा बोलाइएको थियो” थापाले सम्झनुभयो “थाली नाचको कलाकार उत्पादन भएको र गित समेत तयार भएकाले यसको प्रचारप्रसारमा सहयोग पुगेको छ । यसप्रती धेरै खुसी र उत्साही छु ।”

पहिले चरेसको थाल नचाउने चलन थियो । पछिल्लो समय दुवै हातमा स्टेलका थाल राखेर नचाउने गरिन्छ । नृत्यको समयमा थाल भुईमा खसेमा असुभ हुने मान्यता छ । थालीनृत्यको संरक्षण र प्रर्वद्धनमा चिमखोलाका वृद्धा, महिला र युवतीहरु सक्रिय भएका छन् । हिमालयन आमा समूहले युवतीहरुलाई थाली नाचको प्रशिक्षणनै सञ्चालन गर्दै आएको छ । पृथक पहिचान बोकेको थालीनाच अहिले चिमखोलामा मात्रै नभएर जिल्ला, देशका विभिन्न सहर र बिदेशमा समेत लोकप्रिय बनेको छ ।

मगर समुदायको मौलीकता झल्कने थाली नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाहे हुन्छ । धेरै प्रयास गर्नुपर्छ । गितको सुर तालसंगै हातखुट्टा र शरिरको चाल मिलाउनुपर्ने कलाकार यनु पुनले बताउनुभयो । “कतिले हातमा गम लगाएर थाले राखेको भनी शंका गर्छन तर त्यस्तो होईन्” कलाकार पुनले भन्नुभयो “दर्शकलाई विश्वास दिलाउनका लागि नाचको बिचमा थाललाई केही समय भुईमा राख्ने गरेका छौ ।”

सुरुमा कठिन भएपनि अभ्यास गरेपछि गित र नृत्यमै ध्यान केन्द्रित भएपछि सजिलो हुने कलाकार सञ्जु गर्बुजाले बताउनुभयो । बसाईसराईसंगै चिमखोलाबासी पुगेको ठाउँमा थाली नृत्यको संस्कृती प्रचारप्रसार भएको छ । नयाँ पुस्ताले थाली नृत्य संरक्षणमा चासो दिएका छन् । पुरानो र नयाँ पुस्ताबिच संस्कृती हस्तान्तरणका लागि नृत्य प्रशिक्षण दिइएको छ । महिला कलाकारले गून्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ । म्याग्दीमा आयोजना हुने हरेक सभा समारोहमा थाली नृत्य देखाउने गरिन्छ । जापान, हङकङ, बेलायत, अमेरीका लगायतका देशमा रहेका म्याग्देलीहरुले पनी चाडवाडको समयमा थाली नृत्य अवलोकन गर्छन् । प्रवासका म्याग्देलीले आयोजना गर्ने प्रायजसो कार्यक्रममा थाली नाच देखाउने गरिएको म्याग्दी प्रवासी नेपाली संघका उपाध्यक्ष ओमनारायण जुक्जालीले बताउनुभयो । जिल्लाको मौलीक संस्कृती संरक्षणमा मोनाले प्राथमिकता दिएको उहाँको भनाई छ ।
थालीनाचकी सर्जक हिरामायाँ पुन श्रीस
दुबै हातका पञ्जामा थाल राखेर छमछमी नाच देखाउँदा जो कसैलाई पनि अचम्बीत बनाउने गर्छ । अहिले नेपालमा मात्रै होईन विदेशमा समेत निकै लोकप्रिय बनिरहेको थाली नाचको उद्गम थलो म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला हो । वि.स. २००८ सालमा चिमखोलामा जन्मिएकी हिरामायाँ पुन श्रीस थाली नाचको सर्जक हुन् । बाबा सक्त बहादुर र आमा नन्दिका पुनको ६ भाई छोरा र २ बहीनी छोरी मध्ये कान्छि छोरीको रुपमा जन्मिएकी उहाँले खाना खाएको भाँडा बाझेर धारोदेखि घरभित्र जाँदा हातमा थाल घुमाउने गर्दै गर्दा त्यसलाई नाचमा रुपान्तरण गर्नुभएको थियो । पहिले गाउँमा पुरुषहरुले देशी नाच देखाउँदा हातमा थाल राखेर घुमाउने गरेको देखेपछि त्यसलाई सिको गर्दा आफुले नाचकै रुपमा स्थापित गर्न सफल भएको उहाँको भनाई छ ।

हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचकी सर्जक हिरामायाँले थाली नाचको बढ्दो लोकप्रियताले आफु खुसी भएको बताउनुभयो । ‘‘ मैले त्यतिबेला थाली नाच देखाउँदा धेरै आरोपहरु खेप्न प¥र्यो, दुई हातमा चरेशका थाल नचाउँदा मलाई बोक्सी र टुनामुना गर्ने मान्छे सम्म भने कतिपयले, अहिले यो नाच देश विदेशमा महत्वका साथ देखाउँदा धेरै सन्तुष्टी मिल्छ’’–उहाँले भन्नुभयो ।

सन्तोष गौतम/कमल खत्री