वैदेशीक रोजगारिको पिडा : रक्तचापले कुबेतमा अचेत भएका राखुका गणेश किसान एक महिनादेखि अस्पतालमा

  • १७ भाद्र २०७५, आईतवार
  • 5209 पटक पढिएको

म्याग्दी, १७ भदौ । रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) कुबेतमै ढले । रक्तचापको समस्याले उनी प्रवासमै अचेत भएर ढलेपछि उनलाई उपचारको लागि हस्पीटल भर्ना गरीएको छ । गत साउन ६ गते अकस्मात गम्भिर स्वास्थ्य समस्या आएपछि उनलाई कोमामा राखेर उपचार गरिएको थियो । २ हप्तापछि सामान्य होसमा आएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अबस्थामा फर्कन अझै सकेको छैन् । उनी अहिलेपनि आफुले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराईरहेका छन् । कम्पनीले राखुकै राजन परियारलाई उनको रेखदेख गर्न अस्पतालमा खटाएको छ ।

घरखर्च जुटाउनको लागि प्रवास पुगेका घरमुली नै विरामी परेर अस्पतालमा भर्ना भएपछि यता उनको घरपरिवार पनि चिन्तित बनेका छन् । कुबेतको कुक्जे कम्पनीमा कार्यरत रहेका किसान प्रवासमै थलीएपछि घरपरिवारको गुजारा चलाउने उनको सपना भताभुंग भएको छ । २ बर्ष देखि उक्त कम्पनीमा कार्यरत उनको उपचारमा लाग्ने खर्च अहिलेसम्म कम्पनीले नै व्यहोरेको र विरामी हुँदाको तलब समेत दिईरहेको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका कमल भण्डारीले जानकारी दिनुभयो ।


‘‘ किसानको स्वास्थ्यमा सामान्य सुधार आएपछि कम्पनीले घर पठाउने तयारीमा थियो, हामीले उनको पूर्ण उपचार यही गरेर मात्रै नेपाल पठाउने भनेका छौँ, उनलाई नियम अनुसारको सहयोग गर्न कम्पनी कन्भिन्स भएको छ, उनको स्वास्थ्यमा क्रमिक सुधार आएकाले उनलाई छिट्टै घर पठाउन सक्छौँ भन्ने लागेको छ ’’–भण्डारीले भन्नुभयो । उनका अनुसार, विरामी भएपछि लामो समयसम्म बोल्न समेत नसक्ने अबस्थामा रहेका किसान अहिले सामान्य बोल्न सक्ने भएपनि अझै पूर्ण रुपमा स्मरण गर्ने शक्ति फर्किसकेको छैन् ।

यता अस्पतालमा उपचाररत किसानको उपचार र उनलाई सहज रुपमा नेपाल पठाउनका लागि मोना कुवेतले समेत चासो दिएको छ । मोना कुबेतका संयोजक प्रेम बिश्वकर्मा , महासचिव चन्द्र बिश्वकर्मा, कोषाध्यक्ष कुष्ण बहादुर खड्काले अस्पतालमा पुगेर विरामीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । विमा बापतको क्षतीपुर्ति लिनको लागि पनि दुताबाससंग आबश्यक पहलको लागि आग्रह गरिएको मोना कुवेतका महासचिब विश्वकर्माले जानकारी दिनुभयो ।