लायन्स क्लबको तीज तथा कानुनी सचेतना कार्यक्रम

  • १७ भाद्र २०७५, आईतवार
  • 1857 पटक पढिएको

म्याग्दी, भदौ १६ । लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजनामा शनिबार सदरमुकाम बेनीमा तीजको अवसरमा नयाँ कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्कृति जगेर्नाका लागि तीज कार्यक्रम–२०७५ तथा नयाँ कानुनी सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले कला र संस्कृति अमुल्य सम्पति भएकाले यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्ने बताइन् । उनले तीजमा हुने धेरै खर्चलाई कटाएर सामाजिक क्षेत्रमा लगाउन सकिने बताउँदै नयाँ मुलुकी ऐनको विषयमा सबै सचेत हुनुपर्ने बताएकी छिन् ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका एमजेएफ सन्तोष रावलले तीजलाई भड्किलो र खर्चिलोभन्दा पनि सामान्य तरिकाले मनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा लायन्स क्लब अफ म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँ र बेनी–महारानीका अध्यक्ष हिरादेवी उपाध्यायले मन्तव्य राखेका थिए । कार्यक्रममा अधिवक्ता ममतादेवी शर्माले कानुनी तथा महिला अधिकार र एनएमबि बैंक म्याग्दी शाखाका प्रमुख पुस्कल ढुङ्गानाले बैङ्किङ क्षेत्रको विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षता, सचिव नविना रावलको सञ्चालन र उपाध्यक्ष जानकी विश्वकर्माको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा महिलाहरुले तीज गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।