दरवाङ म्याग्दी खोलाको वित्तिय व्यवस्थापन

  • १६ भाद्र २०७५, शनिबार
  • 2218 पटक पढिएको

बेनी १६ भदौ । मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमत्ताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने भएका छन् । तिन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत उत्पादन गर्ने जनाइएको छ । आयोजना निर्माण गर्न चार अर्ब ५० करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।

दरवाङ, देविस्थान, ताकम र बिमको सिमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र रातो ढुंगामा विद्युतगृह निर्माण गर्ने प्रस्ताव गरिएको छ । वि.स २०७१ फागुनमा जनेरेशन अनुमती पाएको कम्पनीले लगानीको बिवादका कारण काम सुरु गर्न सकेको थिएन् । कम्पनीमा नयाँ सञ्चालकहरु भित्रीएर आयोजनालाई अघि बढाउन लागेका हुन् ।
एनआरएनए कोरीयाका पूर्व अध्यक्ष र म्याग्दी प्रवासी नेपाली संघका पूर्व बरिष्ठ उपाध्यक्ष बिनोद कुँवरको नेतृत्वमा आयोजना निर्माण हुन लागेको हो । यस आयोजनाबाट उत्पादीत विद्युत बिमको डाँडाखेत सब स्टेशनबाट केन्द्रिय प्रशारण लाईनमा जोडिने भएको छ । वित्तिय व्यवस्थापन भएपछि आयोजना निर्माणले तिब्रता पाउने स्थानीय जनप्रतिनिधी र सर्वसाधारणले अपेक्षा गरेका छन् ।