मनोकांक्षा पुरा हुने भएपछि ऋखार पुग्ने भक्तजन बढे (फोटो फिचर)

  • १२ भाद्र २०७५, मंगलवार
  • कमल खत्री
  • 6684 पटक पढिएको

म्याग्दी, १२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल ऋखारमा पुजा र दर्शनको लागि जाने भक्तजनहरुको सख्ंया बढेको छ । धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने भएपछि हरेक बर्ष यहाँ पुग्ने भक्तजनहरुको सख्ंया बढ्दै गएको हो । जनैपूर्णिमाका दिन विशेष पुजा हुने यस मन्दिरमा आफुले आँटेको र चाहेको कुरा पुरा गराउनको लागि भाकल गर्न म्याग्दीको साथै , पर्वत, बागलुङ, कास्की लगायतका क्षेत्रबाट भक्तजनहरु पुग्ने गरेको ऋखार संरक्षण तथा सुधार समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस बर्षको जनैपूर्णिमाको अबसरमा मात्रै २५० जना भन्दा बढी भक्तजनहरु ऋखारमा पुगेका थिए ।सदरमुकाम बेनीदेखि ३ दिनको पैदलयात्रापछि पुगिने ऋखारमा पुजा गरेपछि आफ्नो मनोकांक्षा पुरा भएकाले हरेक बर्ष आफु ऋखारमा आउने गरेको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका सुर्यदक्त शर्माले बताउनुभयो ।

‘‘यो ठाउँ प्राकृतिक रुपमा मनोरम छ, धार्मिक रुपमा प्रसिद्ध छ, प्रचार प्रसार र पूर्वाधार नहँुदा केही समस्या छ, आफुले चाहेको कुरा पुरा हुने भएकाले पनि यो ठाउँलाई उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,’’–शर्माले भन्नुभयो । सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखारमा पुजापाठ र दर्शनका लागि पछिल्लो समय भक्तजनहरु आउने क्रम बढ्दो देखिएको छ ।

भौगोलिक रुपमा बिकट र पूर्वाधारहरुको अभाबका बिच पनि यहाँ बृद्धबृद्धादेखि युवायुवतीहरु समेत पुग्ने गरेका छन् । पोखराबाट ऋखार मन्दिरमा पुग्नुभएकी हमती छन्त्यालले यस मन्दिरमा पुजा गरेमा आफुले चाहेको पुरा हुने भएकाले आफुहरु पटक–पटक यहाँ आउने गरेको बताउनुभयो । ऋखार जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी, पात्लेखर्क हुदै पुग्न सकिन्छ ।

यहाँ पुग्ने भक्तजन र पर्यटकहरुलाई पात्लेखर्क, बगरखोला र ऋखारमा तिर्थबास भवन बनाईएको छ । अग्लो पहाडको टुप्पोमा रहेको तलाउ माथि डुंगा आकारको ढुंगामाथि रहेको ऋखारमा सप्तऋर्षि कश्यप, भरद्धाज, गौतम, जमदग्नी, बरिष्ठ, विश्वामित्र र अत्रीले तपस्या गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l