म्याग्दीको बाढी पहिरोको समस्याबारे साँसद थापाद्धारा सरकारको ध्यानकर्षण

  • १ भाद्र २०७५, शुक्रबार
  • 2368 पटक पढिएको

म्याग्दी, १ भदौ । म्याग्दीका प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले गत मंगलवार राती आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत र जोखिमपूर्ण क्षेत्रहरुमा संरक्षणको लागि सरकारको ध्यानकर्षण गराउनुभएको छ । संघिय संसदमा बिशेष समय लिएर बोल्दै साँसद थापाले पहिरोबाट  मालिका गाउँपालिका-२ बिलबाङमा ६ घर पूर्ण रुपमा क्षती भएको र उत्तरी अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा विद्यालय भवन बगाएको प्रति तत्काल सरकारको उपस्थिति पु¥याउन सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।

उहाँले धौलागिरि आधारभुत विद्यालयको भवन पूर्ण रुपमा नदी कटानले क्षती पुगेकाले विद्यार्थीहरुको तत्कालको पठनपाठन र दिर्घकालिन भवन निर्माणको लागि शिक्षा मन्त्रालयको ध्यानकर्षण हुनुपर्ने बताउनुभयो । साँसद थापाले तत्काल आबश्यक राहत र दिर्घकालिन रुपमा पहिरो नियन्त्रणको लागि ध्यान दिन सरकारसंग माग गर्नुभयो । त्यसैगरि बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत सडक स्तरोन्नती गर्दा गेगरलाई कालिगण्डकी नदीमा फालिँदा त्यसले नदी कटानको जोखिम निम्त्याएको भन्दै उहाँले सम्बन्धित आयोजनालाई तत्काल गेगरलाई सही व्यवस्थापन गर्न निर्देशन दिन समेत आग्रह गर्नुभयो ।

त्यसैगरि गृहमन्त्री रामबहादुर थापालाई समेत भेट गरि म्याग्दीका नेकपाका नेताहरुको एक टोलीले म्याग्दीमा आइपरेको प्राकृतिक विपत्तिले पु¥याएको क्षतीबारे जानकारी गराएका छन् । नेकपाकी नेतृ एवम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापा, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, साँसद भुपेन्द्र थापा लगायतको टोलीले गृहमन्त्री थापालाई प्राकृतिक प्रकोपले निम्त्याएको क्षत्रीबारे लिखित जानकारी गराउँदै आबश्यक पहल लिन आग्रह गर्नुभएको थियो । त्यसैगरि जिल्लामा रहेको गुठी जग्गा समस्या समाधानको लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निबारणमन्त्री पद्माकुमारी अर्याल समक्ष ध्यानकर्षण गराईएको जिल्ला समन्वय समितिका प्रमुख केसीले जानकारी दिनुभयो ।