थामडाँडामा निर्मित खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)

  • १ भाद्र २०७५, शुक्रबार
  • कमल खत्री
  • 3112 पटक पढिएको

म्याग्दी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा सिङ्गा खानेपानी तथा सरसफाई आयोजना स्किम नम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालन भएको सो आयोजनाबाट ३७ घरधुरीको घरघरमा खानेपानी सुविधा विस्तार गरिएको छ । लागत स्टिमेट भन्दा करिब १ लाख कम लगानीमै निर्माण भएको सो आयोजना निर्माणमा कुल रु ५८ लाख ७८ हजार १३० लगानी भएको छ ।

नेपाल सरकारको रु ३९ लाख ९५ हजार २२५ लगानी रहेको सो आयोजनामा स्थानीय उपभोक्ताले रु १८ लाख ८२ हजार ८७७ बराबरको जनसहभागीता जुटाएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख ईश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले वडा नम्बर – ४ को बास्कुना, सुर्केमेला, राक्से र तातोपानीमा समेत एक घर एक धारा जडानको लागि छुट्टाछुट्टै स्किममा काम भैरहेको जानकारी दिनुभयो । सो आयोजनाको शुक्रवार म्याग्दीका गण्डकी प्रदेश सभाका साँसद विनोद केसीले उद्घाटन गर्नुभयो ।

आयोजनाको उद्घाटन गर्दै साँसद केसीले हरेक नागरिकको घरदैलोमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्नु बर्तमान सरकारको प्राथमिकतामा परेको बताउँदै आयोजनालाई दिगो र व्यवस्थित बताउनुपर्नेमा जोड दिनुभयो । ‘‘ सरकारले एउटै ठाउँमा पटक पटक लगानी गर्न सक्दैन, हामीले नै यहाँका विकास निर्माणका पूर्वाधारहरुको संरक्षण गर्नुपर्छ, खानेपानी दैनिक जनजिवनसंग जोडिएकाले पनि अझ बढी महत्व दिएर आयोजनाको टिकाउ र दिगोपना तर्फ ध्यान दिनुपर्छ’’–साँसद केसीले भन्नुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले वडाभित्र सञ्चालन भएका खानेपानी आयोजनाहरु मध्ये छोटो समयमै निर्माण कार्य सम्पन्न गरि थामडाँडाबासीले नमुना कार्य गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा खानेपानी आयोजना बास्कुना स्किमका अध्यक्ष भिम गुरुङले स्थानीय समस्याहरुको बारेमा ध्यानकर्षण गराउनुभएको थियो ।
आयोजना सम्पन्न गर्न स्थानीयबासीले २ महिनासम्म श्रमदान गरेको समितिका अध्यक्ष निरास बहादुर थापाले जानकारी दिनुभयो । ठुलो उत्तिसजरा सिस्नेरामा रहेको मुहानमा संकलन केन्द्र र थामडाँडामा वितरण ट्याङ्की निर्माण गरि करिब साढे ५ किलोमिटर मुख्य र सहायक पाईपलाइन मार्फत खानेपानी वितरण गरिएको छ ।

पहिले खानेपानीको चरम अभाब खेपेका थामडाँडाबासीहरुको लागि घरघरमा खानेपानीको पहुँच पुगेपछि शुद्ध खानेपानीको सहज पहुँच विस्तार संगै समयको समेत बचत भएको वडा सदस्य एवम स्थानीय अगुवा देव बहादुर घलेले जानकारी दिनुभयो । सो अवसरमा सार्वजनिक सौचालय निर्माण र खानेपानी उपभोक्ता समितिको भवन निर्माणको लागि चार आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएकी नन्दकुमारी गुरुङनलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष थापाको अध्यक्षता, सचिब कुल बहादुर गुरुङको स्वागत र वडा सदस्य घलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l