बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनकता

  • १ भाद्र २०७५, शुक्रबार
  • कमल खत्री
  • 3253 पटक पढिएको

बेनी, १ भदौ । बेनीमा एक महिना लामो ‘बर्खेचान’को रौनकता छाएको छ । नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउन सुरु गरिएको छ । नेपाल भाषा मंकाःखलः को मुल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको बर्खेनाच अन्र्तगत विहिवार बेनीमा लाखे नाच प्रर्दशन गरिएको छ । बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ ।


परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारहरुले बर्खेनाचमा अभिनय सहित नृत्य देखाउने गर्छन् । यस बर्ष भदौ २७ गते हरितालिका तिजको दिनसम्म बेनीको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेचान अन्र्तगत विभिन्न नाचहरु देखाउन थालिएको मंका ः खल अन्र्तगतको युवाहरुको समुह ल्याम पुचका अध्यक्ष सुविन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शन पच्चात साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाई नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ ।

ऐतिहाँसिक महत्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडी बर्खेनाचको लागी नयाँ कलाकारहरुलाई तालीम समेत दिईएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l