म्याग्दीको बाढी पहिरोको समस्याबारे साँसद केसीद्धारा प्रदेश सरकारको ध्यानकर्षण

  • ३१ श्रावण २०७५, बिहीबार
  • 2162 पटक पढिएको

म्याग्दी, ३१ साउन । मंगलवार राती आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत र जोखिमपूर्ण क्षेत्रहरुमा संरक्षणको लागि म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको गण्डकी प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै साँसद केसीले म्याग्दीको मालिका गाउँपालिका– २ बिलबाङमा पहिरोबाट ६ घर पूर्ण रुपमा क्षती भएको र दर्जन बढी घर जोखिममा रहेकाले पहिरो पिडितहरुलाई तत्काल बसोबास र खानपिनको बन्दोबस्त मिलाउन सरकारको ध्यानकर्षण गराउनुभएको हो ।


उहाँले बिलबाङका पहिरो पिडितको अन्नपात र लत्ताकपडा सहित सबै धनसम्पती पहिरोले पुरेकाले उनीहरुलाई तत्काल खान र बसोबासको बन्दोबस्त सहित दिर्घकालिन बसोबास र जोखिमपूर्ण क्षेत्रमा संरक्षणको काम गर्न तर्फ प्रदेश सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरि कालिगण्डकी नदीको कटानबाट विद्यालय भवन बगापछि पठनपाठन नै प्रभावित बनेको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीका बालबालिकाहरुको नियमित पठनपाठनको लागी तत्कालिन र दिर्घकालिन पूर्वाधार आबश्यक रहेको तर्फ सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।

उहाँले कालीगण्डकी नदीको कटानले जोखिममा परेका कोप्चेपानी, बेनी–जोमसोम सडक स्तरोन्नतीको क्रममा विभिन्न ठाउँमा जोखिममा परेका घरधुरीहरुको सुरक्षाको लागि समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।