बेनी अस्पतालको भवन निर्माण योजना अल्पत्र, साढे १ बर्षमा जग मात्रै बस्याे

  • ३१ श्रावण २०७५, बिहीबार
  • धिरन खत्री
  • 1947 पटक पढिएको

म्याग्दी, ३१ साउन । शल्यक्रिया सहितको स्वास्थ्य सेवा प्रवाहमा अब्बल मानिएको बेनी अस्पतालमा अहिले अस्थायी टहराबाट सेवा प्रवाह भैरहेको छ । १५ शैयाबाट स्तरबृद्धि गरी ५० शैयाको अस्पताल बनाउन सुरु गरिएपनि भवन पूर्वाधार योजना अल्पत्र परेपछि चौतर्फि चासो र चिन्ता बढेको छ । क्षमता विस्तार सहितको सेवा प्रवाहको लागि भवन निर्माण योजना सुरु भएको साढे १ बर्ष समय ठेकेदार कम्पनीले व्यर्थमा गुजारेपछि भवन निर्माण योजनाबारे अन्यौलता बढेको हो ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसंग २०७३ पुस २१ मा काठमाण्डौको महादेव खिम्ती, गल्वा रफिना जेभीले रु १८ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । २०७६ मंसिर भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता अनुसार कार्यक्षेत्रमा परिचालन भएको सो कम्पनीले साढे १ बर्ष समय भवनको जग बसाल्नमै खर्चिएको छ । ठेकेदार कम्पनीले अहिलेसम्म भवनको जग खन्ने र बेसको काम समेत सबै नसकेको र निर्माण कार्यलाई अल्पत्र पारेको बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीले बताउनुभयो । भवन निर्माण कार्य सुस्त भएपछि पटक पटक ताकेता गर्दा समेत निर्माण कार्यले गति नलिएको अध्यक्ष रेग्मीले बताउनुभयो।

पुराना संरचना भत्काउने, विद्युत व्यवस्थापन गर्ने लगायतका काम समयमै गरेर अस्पताल विकास समितिले सहयोग गर्दा गर्दै पनि ठेकेदारले भवन निर्माण कार्यमा वेवास्ता गर्नु गम्भिर लापरबाही भएको उहाँको भनाई छ । ‘‘ अस्पताल विकास समितिले भवन निर्माणमा सबै खालको सहयोग गरेको छ, ढिलाई भएपछि तिन पटक सम्म बैठक बसेर निर्णय नै गरेर सम्बन्धित निकायमा पत्राचार गरेर ध्यानकर्षण गरायौँ, अहिले प्रशासन, डिभिजन र प्रदेश मन्त्रालय मार्फत समेत भवन निर्माणमा ताकेता भएको छ’’–अध्यक्ष रेग्मीले भन्नुभयो ।

अत्याधुनिक भवनमा एक तला अन्डरग्राउन्ड सहित तिनतले भवन निर्माण हुनेछ । पहिलो तलामा ओपीडी, दोस्रोमा इन्डोर र तेस्रोमा प्रशासनिक कार्यालय रहने गरि डिजाइन गरिएको छ । जिल्लाकै ठुलो बेनी अस्पतालको स्तरोन्नती सहित सुविधासम्पन्न पूर्वाधार बन्ने योजना कार्यान्वनयपछि उत्साहित बनेका जिल्लाबासी यतिबेला भवन निर्माण योजनाको गति सुस्त भएपछि भने चिन्तीत बनेका छन् । नयाँ भवन निर्माण गर्दा बहिरंग, प्रशासनिक, प्रसुती, डेण्टल लगायतका सेवा प्रवाह हुँदै आएका पुराना भवन भत्काइएको छ । पुराना संरचना भत्काइएको र नयाँ भवनको पूर्वाधार अल्पत्र पर्दा सर्वसाधारणलाई लामो समयसम्म अस्थायी पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता बढ्ने खतरा बढेको छ ।

अस्पताल विकास समितिले रु ६५ लाख खर्चिएर अस्थायी संरचना तयार गरि अहिले स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । भवन अभाबले अस्थायी संरचना मार्फत सेवा प्रवाह गर्दा कठिनाई उत्पन्न भैरहेको सन्दर्भमा नयाँ बने भवनको गति सुस्त हुनुले जटिलता उत्पन्न गराएको अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक डा रोशन न्यौपानेले बताउनुभयो । उहाँले अहिलेको काम गराईले भवन समयमै सम्पन्न हुनेमा दुविधा उत्पन्न गराएको बताउनुभयो । अठार महिनाको अवधिमा डिपिसी र पिल्लर ठड्याउने कामसमेत नसकेपछि यस निर्माण कम्पनीलाई चौतर्फि रुपमा कारबाहीको आवाज उठेको छ । गत फागुनदेखि कम्पनीका कर्मचारी समेत निर्माणस्थलबाट सम्पर्कबिहीन छन् ।

                                               मुख्यमन्त्रीद्धारा निरीक्षण
स्तरबृद्धि सहित पुननिर्माण हुन लागेको बेनी अस्पतालको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निरिक्षण गर्नुभएको छ । प्रतिनिधि सभाका साँसद भुपेन्द्र थापा, प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सभा साँसद विनोद केसी सहित जिल्ला स्थित सरोकारवालाहरुसंगको टोली सहित अस्पतालको भवन निर्माण परिसरमा पुगेका मुख्यमन्त्री गुरुङले भवन निर्माण कार्य सन्तोषजनक नभएको पाईएको बताउनुभयो ।

उहाँले स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा भवन निर्माणको जिम्मा लिएर अल्पत्र बनाउने ठेकेदारलाई कारबाहीको लागि समेत आबश्यक प्रकृया अगाडी बढाउन सम्बद्ध क्षेत्रलाई निर्देशन दिने बताउनुभयो । प्रदेश सरकार अन्र्तगत रहने सरकारी स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहलाई प्रभाबकारी र पूर्वाधार तथा साधन स्रोतमा बलियो बनाउतर्फ प्रदेश सरकारको ध्यानकर्षण भैसकेको बताउनुभयो । ‘‘ अब विकास निर्माणमा डनबादको अत्य हामीले गछौँ, कही कसैले लापरबाही गरे त्यसको तुरुन्त अनुगमन गर्छौ, कुनै पनि बाहनामा विकासमा अवरोध र ढिलासुस्ती सह्य हुदैन,’’–मुख्यमन्त्री गुरुङले भन्नुभयो ।
                                                         पेश्की फिर्ता प्रकृया सुरु
बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ । भवन निर्माणको जिम्मा लिएको महादेव–खिम्ती–ज्वाला–रफीना जेभीले काममा ढिलासुस्ती गरेपछि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बैंक जमानतबाट असुल हुने गरी पेश्की फिर्ताका लागि प्रक्रिया अघि बढाएको हो ।

पेश्की लगेर लक्ष्यअनुसार काम गर्न नसकेपछि रु ६६ लाख असुल गराउन जमानत बसेको बैंकलाई पत्राचार गरिएको कार्यालयका लेखा अधिकृत मीनबहादुर बानियाँले जानकारी दिनुभयो । यस निर्माण कम्पनीले हालसम्म पाँच प्रतिशत पनि काम गर्न नसकेको डिभिजन कार्यालयका इन्जिनियर गणेश महर्जनले बताउनुभयो । ‘‘ भवन निर्माण योजनामा कम्पतीलाई पटक पटक पत्राचार र टेलिफोन मार्फत समेत गति बढाउन आग्रह गरेपछि अटेर गरेपछि कारबाही प्रकृया अगाडी बढाईएको डिभिजन कार्यालयले जनाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l