पहिरो निरीक्षणमा पुगेका गाउँपालिका अध्यक्ष रोकाद्धारा पहिरो पिडितलाई सहयोग गर्न अपिल

  • ३० श्रावण २०७५, बुधबार
  • 2481 पटक पढिएको

म्याग्दी, ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा पहिरोबाट प्रभावित बनेको क्षेत्रको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र सुरक्षा निकायका प्रतिनिधिहरुले निरीक्षण गरेका छन् । मंगलवार राती गएको पहिरोबाट बिलबाङमा पुगेको क्षतीको बुधवार दिउँसो स्थलगत रुपमै पुगेर निरीक्षण गरिएको हो । पहिरोको अवस्था निरिक्षण गरि पुरिएका चार घर सहित पूर्ण क्षती भएका ६ घरपरिवारका स्थानीयलाई सुरक्षीत स्थानमा आफन्तकोमा बस्ने व्यवस्थापन मिलाइएको गाउँपालीका अध्यक्ष रोकाले बताउनुभयो ।

‘‘पहिरोले बिजोग बनाएको छ, धन्न पहिरो खस्न थालेपछि पहिल्यै नै मानिसहरु घरबाहीर निस्कीएकाले मानविय क्षती हुन पाएन, अब घरबार विहिन भएकाहरुलाई तत्काल खान बस्नको प्रवन्ध मिलाउनतर्फ पहल थाल्छौँ’’–अध्यक्ष रोकाले भन्नुभयो ।   उहाँले बिभिन्न सराेकारवाल र सहयाेगदाताहरूसंग समन्वय गरी  पहिराे पिडीतहरूकाे लागी  गाउँपालीकाले अल्पकालीन र दिर्घकालीन राहतकाे लागी  पहल सुरू  गर्ने  बताउनुभयाे ।  पहिरोले घरबार विहिन भएकाहरुको भाँडाकुडा र लत्ताकपडा देखि सबै सामान पहिरोमै पुरिएकाले उनीहरुलाई सबै क्षेत्रबाट सहयोग गर्न उहाँले आह्वान गर्नुभएको छ । बुधवार नै दरबाङ प्रहरी चौकीका असई जिवन आचार्य नेतृत्वको टोलीले समेत घटनास्थलमा पुगेर क्षतीको अवस्था संकलन गरेका छन् ।

बिलबाङमा बस्ती माथिबाट खसेको पहिरोबाट पूर्ण रुपमा क्षती पुगेका ६ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले २० हजारका दरले राहत दिने भएको छ । गाउँमाथिबाट खसेको पहिरोले स्थानीय नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नुटबहादुर पुन, श्यामलाल पुन र भुवन पुनको घर पूर्ण रुपमा क्षती पुगेको थियो । बिलबालमा पहिरोबाट १ दर्जन बढी घर उच्च जोखिममा परेको कारण उनीहरुलाई समेत सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।