रुमका पहिरो पिडितलाई २० हजारका दरले राहत दिने विपद व्यवस्थापन समितिको निर्णय

  • ३० श्रावण २०७५, बुधबार
  • 3573 पटक पढिएको

म्याग्दी, ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रूम बिलबाङमा बस्ती माथिबाट खसेको पहिरोबाट पूर्ण रुपमा क्षती पुगेका ६ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले राहत दिने भएको छ । मंगलवार राती भएको बाढी पहिरोको घटना लगत्तै बुधबार दिउँसो बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले बिलबाङका घरबार विहिन पहिरो पिडितलाई २० हजारका दरले राहत दिने निर्णय गरेको हो ।


गाउँमाथिबाट खसेको पहिरोले स्थानीय नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नुटबहादुर पुन, श्यामलाल पुन र भुवन पुनको घर पूर्ण रुपमा क्षती पुगेको थियो । बिलबालमा पहिरोबाट १ दर्जन बढी घर उच्च जोखिममा परेको कारण उनीहरुलाई समेत सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । बिपद व्यवस्थापन समितिको बैठकले कालिगण्डकी नदीको कटानले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा रहेको धौलागिरि आधारभुत विद्यालयका बालबालिकाहरुको पठनपाठनको लागि आबश्यक पूर्वाधार निर्माण र व्यवस्थापनको लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।


त्यसैगरि बाढी पहिरोको जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका अन्र्तगतका गुइठे, काभ्रेभिर, फगाम, सुवा, कोप्चेपान िलगायतका ठाउँका दर्जनौ घरहरु नदी कटान र पहिरोको जोखिममा रहेकाले संरक्षणको लागि प्रदेश सरकार समक्ष अनुरोध गरि पठाउने निर्णय भएको प्रजिअ अधिकारीले बताउनुभयो । वैठकले स्तरोन्नति भइरहेको बेनी–जोमसोम सडक आयोजनालाई पनि बस्तीहरुको संरक्षणको उपाय अबलम्बन गर्न निर्देशन दिएको छ ।